काठमाडौं/ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन्। उपाध्यक्ष रावलले आइतबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेदवारी दिने तयारी गरेको उपाध्यक्ष रावलका स्वकीय सचिव गोविन्दबहादुर दुवालले बताएका छन्।
दुवालले फेसबुकमा लेखेका छन्, ‘नेकपा ९एमाले० का उपाध्यक्ष डा। भीम रावलको उम्मेदवारीसम्बन्धी विशेष पत्रकार सम्मेलनमा उपस्थितिको लागि सम्पूर्ण सञ्चारकर्मीहरूलाई हार्दिक आमन्त्रण गर्दछौँ।’ अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रूपमा दोहोरिने प्रयास भइरहेको बेलामा उपाध्यक्ष रावलको घोषणाले सर्वसम्मतको प्रयासमा धक्का लाग्ने भएको छ। माधवकुमार नेपाल र झलनाथ खनालले एमालेबाट विद्रोह गर्ने बेलामा उपाध्यक्ष रावल एमालेमै रहेका थिए।






















