कांग्रेस बागमती प्रदेश सभापतिमा बानियाँको तयारी तिब्र

हेटौंडा टुडे
२०७८ मंसिर १२, आईतवार १४:०२ गते

हेटौँडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत बागमती प्रदेश सभापतिको उम्मेदवारको रुपमा युवा नेता इन्द्रबहादुर बानियाँ अघि बढेका छन् । बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति बानियाँ प्रदेश सभापतिको उम्मेदवारको रुपमा अघि बढेका हुन् ।

बानियाँले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेपनि आफ्नो आन्तरिक तयारी तिब्र पाएका छन् । ‘सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौला लगायतका शिर्ष नेतृत्वसहितको सहमति जुटाएर सर्वसम्मत सभापति बन्ने ढंगले उहाँले तयारी गरिरहनु भएको छ ।’–उनी निकट एक नेताले भने–‘प्रदेशका जिल्लाहरुमा पनि छलफल गरेर सकभर सर्वसम्मत नेतृत्वमा जाने र नभए लोकतान्त्रिक विधिमा सहभागी हुने गरी उहाँ सभापतिको उम्मेदवार हुनुहुनेछ ।’ स्रोतका अनुसार बानियाँलाई संस्थापन र इतर समूह दुबैको सहयोग रहने भएकाले उनले आफ्नो चुनावी अभियानलाई अघि बढाएका छन् । ‘पार्टीको आन्तरिक चुनाव हो, यसलाई बढि तडकभडक गर्ने पक्षमा उहाँ हुनुहुन्न, त्यसैले अभियानलाई सामान्य तर व्यवस्थित ढंगले अघि बढाईएको छ ।–उनी निकट नेताले भने । बानियाँले अहिले आन्तरिक ढंगले छलफललाई अघि बढाएर सबै क्षेत्र र वर्गको प्रतिनिधित्व प्रदेश समितिमा रहने गरी खाका बनाउन तयारी गरेको जनाईएको छ ।

प्रदेश सभापतिको उम्मेदवारको रुपमा अघि बढेका बानियाँ कार्यकर्ताको संरक्षण र विकासको नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । २०४४ सालदेखि राजनीतिमा होमिएका बानियाँ नेपाल विद्यार्थी संघ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको समेत अनुभव हासिल गर्दै २०७३ सालमा कांग्रेस मकवानपुरका सभापति भएका थिए । २०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका बानियाँले कम्युनिष्टहरुको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिष्टको किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजय भएदेखि निरन्तर सांसद रहेका छन् । उनले २०७४ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन् ।

२०७४ सालमा मकवानपुर संघीय क्षेत्र २ को ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित भएपछि बानियाँले सर्वसम्मत रुपमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयन भई जिम्मेवारी सम्हालिरहेका छन् । बागमती प्रदेशसभामा बलियो प्रमुख प्रतिपक्ष र सशक्त प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसलाई उभ्याउन बानियाँले आफ्नो प्रभावकारी भूमिका प्रस्तुत गरेकाले प्रदेशसभामा पनि बानियाँको धारणालाई सबै दलले अर्थपूर्ण रुपमा लिने गरेका छन् । राजनीतिक, सामाजिक एवं आर्थिक क्षेत्र सबैमा बानियाँलाई एक विश्वासिलो व्यक्तित्वको रुपमा लिने गरिएको उनलाई चिन्नेहरु बताउँछन् ।
नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशन हेटौंडामा मंसिर १६ र १७ गते हुँदैछ । संघीयताको अभ्यास स्वरुप पहिलो पटक हुन लागेको अधिवेशनले बागमती प्रदेश कार्यसमिति बनाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*