हेटौँडा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । यसअघि बिहीबार समितिले ४ हजार ४ सय ७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेकोमा २३५ जना प्रतिनिधि मनोनित गरिएको हो । यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन् ।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ ।राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । निर्वाचन कमिटीका अनुसार, आज (शुक्रबार) बिहान साढे ७ बजेदेखि मनोनयन दर्ता र त्यसपछि दावी विरोध, उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी गरेर शनिबार निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।






















