हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरसहित तराईका जिल्लाहरुमा आँखा शिविर संचालन गर्ने भएको छ ।तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित अस्पतालले मंसिर र पुस महिनामा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लामा निःशुल्क आँखा शिविर गर्ने भएको हो ।
आँखा अस्पतालको तालिका अनुसार मंसिर र पुसमा विभिन्न जिल्लाहरुमा निःशुल्क शिविर गर्दै आइरहेकोमा यो वर्ष पनि निःशुल्क शिविर गर्न लागिएको अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी ८, ९, २५ र २६ गते मकवानपुरको बागमती गाउँपालिकामा निःशुल्क आँखा शिविर हुने छ ।
सर्लाही लगायतका तराईका जिल्लाहरुमा भने पुस महिनाबाट शिविर संचालन हुनेछ । जाडो मौसम सुरु भएसँगै आँखाको शल्यक्रिया गर्नु उपयुक्त हुने भएकोले आँखा अस्पतालले स्थानीय समुदायसँगको सहकार्यमा शिविरको आयोजना गर्ने गरेको छ ।
निःशुल्क आँखा शिविरमा आँखाको परीक्षण गर्नुका साथै मोतिविन्दुको समस्या भएका बिमारीको शल्यक्रिया पनि निःशुल्क गरिने व्यवस्थापक श्रेष्ठको भनाई छ । मोतिविन्दुको शल्यक्रियाका लागि विरामीलाई खानेबस्ने सुबिधासहित यातायातको व्यवस्था गरी हेटौंडास्थित अस्पतालमै ल्याउने गरिएको उनले बताए ।


















