बागमतीका निजी वनमा सालको रुख काट्न अनुमति दिने कार्यविधि तयार
हेटौंडा टुडे
२०८१ माघ १४, सोमबार ११:११ गते
हेटौंडा । बागमती प्रदेशको वन तथा वतावरण मन्त्रालयले निजी वनमा रहेका साल प्रजातिको रुख सदुपयोगका लागि कटान गर्न पाउने व्यवस्थाका लागि कार्यविधि तयार पारेको छ । मन्त्रालयका सचिव डा. केदार बरालले निजी वनको साल प्रजातिको रुख कटान, उपभोग, ओसारपसार, बिक्रि वितरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०८१ तयार गरि स्वीकृतिका लागि प्रदेश सरकार मन्त्रिपरिषद्मा पठाउने अन्तिम चरणमा पुगेको बताएका छन् ।
वन तथा वतावरणमन्त्री कृष्णप्रसाद सिलवालले कार्यविधिले कुनै व्यक्तिले गैर कानूनी ढंगबाट अन्य निजी वन धनीको जग्गामा रहेको रुख चोरी कटानी तथा निकासी गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने बताए ।
जसको अनुगमन तथा प्रतिवेदनसम्बन्धी व्यवस्थामा डिभिजन वन कार्यालय, स्थानीय तह, वन निर्देशनालय र मन्त्रालयले अनुगमन गर्ने कार्यविधिमा व्यवस्था गरिएको मन्त्री सिलवाल बताउँछन् ।
कार्यविधि प्रदेश सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि लागू हुनेछ ।
कार्यविधि बमोजिम दर्ता भएका निजी वन धनीहरूले आफ्नो वन क्षेत्रमा लगाइएका वा हुर्काइएका सालका रुखहरू स्वीकृति लिइ कटान र उपयोग गर्न सक्नेछन् ।
संघीय सरकारको ७ मंसिर २०८० मा नेपाल राजपत्र भाग ५ मा प्रकाशन गरेको सूचना १ को ५ (ग) मा दर्ता भएका निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिको रुख कटान, उपभोग ओसारपसार र बिक्रि वितरण गर्न पाउने र यसको प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने व्यवस्था गरेकोले प्रदेश सरकारले निजी वनको साल कटान तथा उपयोग कार्यको अनुगमन गर्नका लागि कार्यविधी तयार गरेको सचिव बरालले बताए ।
प्रदेशको वन निर्देशनालयद्वारा आयोजित अर्धवार्षिक समिक्षा गोष्ठीमा निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र बागमती प्रदेशभित्रका १५ वटै डिभिजन वन कार्यालयका प्रमुखहरुले अन्तिम रुप दिएको कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत भएपश्चात तुरुन्तै लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।