हेटौंडा । सरकारले दमनको नीति लिएपछि नेपाल शिक्षक महासंघले आन्दोलन थप चर्काउने भएको छ । शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै शिक्षकहरुले प्रतिकार गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा ऐनको मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आइरहेका शिक्षकहरुले हिजो नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । सोक्रममा दर्जनौं शिक्षक घाइते हुनुका साथै समाचार संकलनमा खटिएकी एक पत्रकारको आँखामा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई अनिवार्य काठमाडौं आएर आन्दोलनमा सामेल हुन आह्वान गरेका छन् ।
‘नेपाली शिक्षक कर्मचारीहरु अग्रगामी विद्यालय शिक्षा ऐनबिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक कर्मचारी साथीहरुलाई आफ्ना साथीहरुमाथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आई आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।


















