हेटौंडा । ‘झिल्को’ फिल्म शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ। ११६ शोसहित यो फिल्म हलमा लागेको हो। यो फिल्म झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको हो। बिहीबार साँझ काठमाडौँमा ग्रान्ड प्रिमियर भएकाे झिल्काे बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ।
अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ। यसमा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ। बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छिन्। फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ।
यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यस फिल्मको पटकथा भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको तयार पारेका हुन्। फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्।


















