हेटौंडा । बागमती प्रदेशमा अब ब्लुबुक बोक्नु नपर्ने भएको छ। क्यूआर कोडबाटै सवारी जाँचदेखि नवीकरणसम्मका सेवा पाइनेछ। बागमती प्रदेश सरकारले ब्लुबुक क्युआर प्रणाली सुरु गरेको हो। बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको यो सेवा नागरिक एपसँग आबद्ध गरिएको छ । यस प्रणालीमार्फत सवारीसाधनको विवरण जाँच, ब्लुबुक नवीकरणजस्ता सेवा डिजिटल रूपमा लिन सकिने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा आयोजित एक कार्यक्रममार्फत ब्लुबुक क्युआर कोड अनावरण गर्दै यस प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् ।
ब्लुबुक नै क्यूआर कोड हुने भएकाले यसलाई प्रिन्ट गरेर कागजमा बोक्न वा मोबाइलबाटै देखाउन मिल्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस सेवामार्फत सम्बन्धित सवारीको विवरण मोबाइलमार्फत जाँच गर्नेदेखि ब्लुबुक नवीकरणसम्मका काम सजिलो हुनेछ ।
क्यूआर प्रणाली कार्यान्वयनसँगै बिचौलियामार्फत सेवा लिनुपर्ने बाध्यता हट्ने र सेवामा पारदर्शिता तथा पहुँच बढ्ने मन्त्रालयको विश्वास छ ।


















