आफुले सुहाउँदो र अनुकूल भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

हेटौंडा टुडे
२०८२ बैशाख ३०, मंगलवार १३:५६ गते

हेटौंडा । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरेका हुन ।

‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ’, अभिनेता हमालले भने । उनले चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको जानकारी दिए ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । ‘अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । त्यसैले उहाँलाई दर्शकको भावनाअनुरूप चलचित्रमा प्रस्तुत गर्नु मेरा लागि ठूलो चुनौती थियो । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनु पर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु । हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु’, निर्देशक भट्टराईले भने ।

उनले पछिल्लो समय प्रदर्शन भएका चलचित्रभन्दा ‘नरसिंहा अवतार’ फरक रहेकाले चलचित्र भवन पुग्नुहुने दर्शकको समय र पैसाको सदुपयोग हुने दाबी गरे । उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरू एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन् ।

आगामी जेठ ९ गते नेपालभर प्रदर्शन हुने चलचित्र ‘नरसिंहा : अवतार’ लाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*