यो वर्षको मनसुनमा औसत भन्दा बढी वर्षा र गर्मी हुने

हेटौंडा टुडे
२०८२ जेष्ठ ७, बुधबार १४:०१ गते

हेटौंडा । यो वर्षको मनसुनमा देशका धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको हावापानी शाखाले बुधवार जारी गरेको हावापानी अनुमानमा यो प्रक्षेपण गरिएको हो। मनसुनका लागि जारी अनुमान प्रतिवेदनअनुसार यो वर्ष देशभर न्यूनतम र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने सम्भावना छ। विभागका अनुसार यस वर्ष प्रि मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा भइसकेको छ । विभागले विश्व मौसम संगठनको विश्वव्यापी र क्षेत्रीय जलवायु सूचना केन्द्रहरूको हावापानी अनुमान, दक्षिण एसियाली मौसमी जलवायु दृष्टिकोणको अनुमानका आधारमा यो प्रतिवेदन तयार गरेको हो।

यसैगरी, नेपालको मनसुनमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एल निनो र साउदर्न ओसिलेसन (इन्सो)’ र हिन्द महासागरमा विकसित हुने ‘इन्डियन ओसियन डिपोल’ को हालको अवस्था, जलवायु अनुमानहरू, युरोप र एसियामा गत हिउँद र प्रि-मनसुनमा परेको हिउँ र परिवर्तनशीलताका कारकहरूलाई समेत विचार गरिएको शाखाले जनाएको छ।गत वर्ष २०८१ को मनसुनका लागि विभागले गरेको अनुमानअनुसार धेरैजसो स्थानमा औसतभन्दा बढी वर्षा हुने सम्भावना रहेको भनिएको थियो, र धेरैजसो स्थानमा बढी वर्षा मापन भएको विभागको भनाइ छ।

विज्ञहरूका अनुसार वर्षा र तापक्रमको असमान वितरणले पानीको स्रोत, कृषियोग्य जमिन, बाली चक्र, तथा मानव स्वास्थ्यमा प्रभाव पार्दछ । यस्तो अवस्थामा बाढी पूर्वानुमान प्रणाली, विपद् व्यवस्थापन योजना, बालीको विविधीकरण, मौसमअनुकूल बीउ तथा प्रविधिको प्रयोग एवम् विपद उद्धार तथा राहतको तयारी आवश्यक देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*