हेटौंडा । रसायनिक मलको अभाव सिर्जनालाई अन्त्य गर्न सरकारले स्वदेशमै कारखाना सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको ६३ औं बैठकले रसायनिक मल कारखाना सञ्चालनको बिषयमा प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । सन् २०२१ मा लगानी बोर्डले प्राकृतिक ग्यास र वाटर इलेक्ट्रोलाइसिस प्रविधिको तुलनात्मक अध्ययन गरेको थियो । पछिल्लो समयमा बोर्डले सोहि अध्ययनको आधारमा जर्मनीको डाइभ भन्ने बहुराष्ट्रिय कम्पनीलाई विभिन्न प्रविधिको सहयोगमा उत्पादन हुने युरिया मलको बिषयमा अध्ययनको लागि जिम्मेवारी दिएको थियो । बोर्डका प्रवक्ता प्रधुम्न उपाध्यायका अनुसार उक्त कम्पनीले हालै अध्ययन गरी अन्तिम विस्तृत परियोजना रिर्पोट बुझाएको छ ।
यो कम्पनीले बिजुली, पेट्रोलियम पदार्थ र नयाँ प्रविधि हाइब्रीडको आधारमा युरिया मल कारखाना स्थापना गर्न लाग्ने फरक फरक अध्ययन गरी प्रतिवेदन बोर्डलाई बुझाएको छ ।यो कम्पनीले नवलपरासीको बर्दघाटमा कारखानाको आधार बनाएर यसअघि नै विस्तृत परियोजना रिर्पोट (डीपीआर) बुझाइसकेको थियो ।
‘यो कम्पनीले बुझाएको अन्तिम विस्तृत परियोजना रिर्पोटमा कारखाना स्थापना गर्न तीनवटा विकल्प दिइएको छ,’ प्रवक्ता उपाध्यायले भने,‘अब हामी तीनवटै विकल्पमध्ये कुन प्रविधिमा जाँदा सस्तो हुने, उत्पादनका लागि चाहिने कच्चा पदार्थ तथा उर्जा सस्तोमा स्वदेशमा उपलबधता हुने वा नहुनेलगायतको बिषयमा गहन अध्ययन गर्ने बिषयमा आवश्यक प्रक्रिया अघि बढाउन ६३ औं बैठकले निर्णय गरेको हो ।’


















