हेटौंडा । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। दुई दिन बस्दै नबसी स्थगित भएको बैठक आजका लागि बोलाइएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूसँग सहमति नजुटेपछि बैठक आजका लागि सारिएको थियो। विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा आउनुपर्ने अडान राखेपछि सोमबार र मंगलबार दुवै दिन बैठक बस्न सकेन।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद बैठकमा अवरोध गर्दै आएका छन्। राजीनामा नआएसम्म संसद चल्न नदिने उनीहरूको अडान छ। संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षीसँग मंगलबार र बुधबार छुट्टाछुट्टै छलफल गरेका थिए। गृहमन्त्रीको राजीनामाको विषयमा दलहरूले आ-आफ्नो अडान राखेपछि दुवै दिनको बैठक निष्कर्षविहीन भएका थिए।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको छ। बजेटमा मंगलबारदेखि छलफल हुने कार्यसूची थियो। सो दिन बैठक बस्न नसकेपछि आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल हुने कार्यसूची राखिएको छ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्री पौडेलले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।
बैठकको प्रारम्भमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८२’ पेस गर्ने कार्यसूचीमा उल्लेख छ। सभामुख घिमिरेले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सदस्यहरूको नाम हेरफेर गर्नेछन्।


















