हेटौंडा । निर्देशक कृषा चौलागाईंले आगामी फिल्म ‘जहाजैमा’ बनाउने गर्ने भएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरिएको हो। पोस्टरमा एक पुरुष लगेज लिएर विमानस्थलमा जाँदै गरेको देखाइएको छ। यो फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा उठान गरेको बताइएको छ । फिल्म आगामी भदौदेखि छायांकन गर्ने टिमको तयारी छ। यो फिल्म वैदेशिक रोजगारीको कथामा बन्न लागेको संकेत गर्छ । अहिलेसम्म यस फिल्मका लागि कलाकारहरु फाइनल नभएको निर्माण पक्षले बताएको छ । फिल्ममा जपान र नेपालका कलाकारको अभिनय रहने बताइएको छ ।
कृषा ‘पिताम्बर’को सिक्वेल बनाउने तयारीमा पनि छन् । तर, अहिले उनले पहिला अर्को फिल्म निर्देशन गर्ने खबर बाहिरिएको हो ।
केही दिनअघि जापान गएको समयमा उनले त्यहाँको नेपाली निर्माता कम्पनी युएनए प्रोडक्सनसँग निर्माणबारे सम्झौता गरेको सार्वजनिक गरेकी थिइन्। उनले लेखेकी थिइन्, ‘नेपाल, जापान, र फिलिपिन्ससँग सम्बन्धित एउटा ठूलो प्रोजेक्ट अथवा नयाँ अध्यायको लागि तयार अवस्थामा छौँ। हामी अन्तर्राष्ट्रिय स्तरको नयाँ फिल्म तपाईंहरूलाई दिन लागिरहेका छौँ, जसमा केही नेपाली र केही विदेशी कलाकारहरूको जम्बो टोली रहनेछ।’
युएनए प्रोडक्सनको प्रस्तुति रहने फिल्म उज्ज्वल गुरागाँइले निर्माण गर्नेछन्। आगामी अंग्रेजी वर्ष २०२६ मा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ।


















