हेटौंडा। अत्याधिक गर्मीका कारण मनहरी गाउँपालिकामा रहेका विद्यालयहरुमा १० दिन विहानी कक्षा सञ्चालन हुने भएको छ । पालिकामा रहेका सामुदायिक तथा संस्थागत् विद्यालयहरु सबै विहानी कक्षा सञ्चालन गर्न पालिकाले विज्ञप्ति जारी गरेर निर्देशन दिएको हो । हाल गर्मीका कारण मौसम प्रतिकूल भइ बालबालिकालाई विद्यालयमा पठनपाठनमा गर्न असजिलो भएको र जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले विहानी कक्षा सञ्चालन गर्न लागिएको उल्लेख छ ।
व्यवस्थापन समिति तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा विद्यालय सञ्चालन कार्यतालिका तयार गरी विद्यालयको आवश्यकताअनुसार अधिकतम् १० दिनका लागि विहानी कक्षा सञ्चालन गर्न लागिएको हो । मौसमअनुकूल भए साविकबमोजिम हुने गरी विद्यालय सञ्चालन गर्न भनिएको छ । छिमेकी चितवनमा अधिक गर्मी बढेपछि तीन वटा पालिकाले विद्यालय बन्द गरेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् । अत्याधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीहरुलाइ टाउको दुख्ने, वान्ता हुने जस्ता समस्या देखिन थालेपछि पालिकाहरुले विद्यालय बन्द गराएका हुन् ।
मन्टेश्वरी स्कुललाई समेत महानगरले बन्द गर्न आह्वान गरेको छ । चर्को घाम र गर्मीका कारण रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत् विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । रत्ननगर र खैरहनी नगरपालिकाले बुधबार एक दिन विद्यालय बन्द गरेको छ ।
गर्मीका कारण विद्यालय जाने बालबालिका सबभन्दा बढी प्रभावित भएका पालिकाहरुले विज्ञप्तिमा जनाएका छन् । भरतपुर महानगरपालिकाले जेठ ३० सम्म र खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरी अभिभावकलाई जानकारी गराएको बताएका छन् । प्रमुख प्रशासकीय अधिकृतका अनुसार अहिले हालको बिदा बर्खे बिदामा कट्टा गरिनेछ ।
मंगलबार चितवनको अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो । चितवनका ग्रामीण भेगका प्रायः संस्थागत् तथा सामुदायिक विद्यालयहरुले टिनको टहरामुनि बालबालिका पठनपाठन गर्दै आएका छन् । कतिपय बजारका संस्थागत् विद्यालयका भवनहरु टिनले छाएको पाइन्छ । जसका कारण अधिक गर्मीमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आइरहेको छ ।


















