हेटौँडाले ल्यायो २ अर्ब ९० करोड रुपैयाँको बजेट

हेटौंडा टुडे
२०८२ असार १०, मंगलवार १३:२५ गते

हेटौंडा ।  हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । हेटौँडा उपमहानगरपालिकाको मंगलबार बसेको नगरसभा बैठकमा उपमेयर राजेश बानियाँले चालु आर्थिक वर्षको बजेटमा १९ प्रतिशत वृद्धि गरिएको बजेट प्रस्तुत गरेका हुन् ।

हेटौँडाले चालु आर्थिक वर्षका लागि २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बजेट प्रस्तुत गरेको थियो । हेटौँडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ भने प्रदेश सरकारबाट ११ करोड ४५ लाख ७५ हजार रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरेको छ । यस्तै संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख रुपैयाँ प्राप्त हुने र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपैयाँ बजेटको स्रोत व्यवस्थापनमा व्यहोर्न अनुमान गरिएको छ ।

हेटौँडाले कार्य सञ्चालन तथा प्रशासनिक खर्च व्यवस्थापनका लागि ५९ करोड ६५ लाख ९० हजार रुपैयाँ, सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हेटौँडाले शिक्षा क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ५ करोड ५१ लाख रुपैयाँ, स्वास्थ्यतर्फ मेयरसँग जनता स्वास्थ्य कार्यक्रम, पोषण कोसेली घर भेटघाट गर्ने, निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम, निःशुल्क रक्तसेवा कार्यक्रम, डाइलायसिस लगायतका सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँसहित स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमका लागि २ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । महिला, बालबालिका तथा समावेशीकरण र ज्येष्ठ नागरिकका कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

हेटौँंडा अस्पतालमा निर्माणाधिन बाल एन.आई.सि.यु./पि.आई.सि.यू. सेवा सञ्चालन गर्नका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ भने हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मेघा विद्यालय पूर्वाधार निर्माण (बहुवर्षीय योजना) का लागि विद्यालयको ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । संस्कृति प्रवद्र्धन कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख विनियोजन गरिएको छ । हेटौँडाको न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि ७५ लाख बजेट व्यवस्था गरिएको छ । सामाजिक विकास अन्तर्गत योजना तथा कार्यक्रमका १६ करोड ८३ लाख ५५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

हेटौँडाले हरियाली, वृक्षारोपण तथा रंगरोगन, सफा हेटौँडा, जलवायु, वन तथा भूसंरक्षण, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र जल उत्पन्न प्रकोप नियन्त्रण, फोहोर मैला व्यवस्थापन, ढल तथा नाला पूर्वाधार, खानेपानी सरसफाईतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ३ करोड १५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । हेटौँंडाले वन, वातावरण विपद् व्यवस्थापन कोष र वातावरण विकास कोषको लागि ६ करोड २० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, सहिद स्मृति स्थानीय गोल्डकप, उपमेयर कप महिला तथा पुरुष भलिवल, मेयर कप रनिङ्ग शिल्ड, मेयर कप फुटबल जस्ता खेलकुद प्रतियोगिता आयोजना र विभिन्न खेलकुद मैदान तथा पूर्वाधार निर्माण, सीप विकास तालिम, खेल सामग्री सहयोग, खेलकुद प्रतियोगितामा सहभागिता लगायत कार्यक्रमका लागि २ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

मेयरसँग स्वरोजगार कार्यक्रम, चिज बनाउने उद्योग, बारिष्ठा, सुशी, कपाल कटाई, काष्ठकला, मकैको खोस्टा र थाकलको चकटी सम्बन्धी तालिम सञ्चालन गर्न, कोशेली घर सञ्चालन लगायतका उद्योग, वाणिज्य तथा सहकारी तर्फ उपमहानगरपालिकाले ९८ लाख ३६ हजार व्यवस्था गरेको छ । हेटौंडाले आर्थिक विकास क्षेत्रभित्रका योजना तथा कार्यक्रमका लागि ४ करोड ६९ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अटोभिलेज पूर्वाधार निर्माण हेटौंडा–११, वाटर फन पार्क हेटौंडा–१४, गंगा आरती स्थल हेटौंडा– १० का लागि बजेट व्यवस्था गरिएको छ भने निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण सम्पन्न गरी सञ्चालन गर्न ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*