हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका बुधबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ। यससँगै जिल्लाका सबै १० वटै पालिकाहरू पूर्ण खोप सुनिश्चित भइसकेका छन्, जसले बागमती प्रदेशलाई पुनः पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्न नजिक पुर्याएको छ। हेटौँडा उपमहानगरपालिकामा २२ वटा स्वास्थ्य संस्थामार्फत नियमित खोप सेवा सञ्चालन हुँदै आएको छ। जनस्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईंका अनुसार खोप अभियानमा ९१ जना तालिमप्राप्त स्वास्थ्य स्वयंसेविका र ९१ वटा आमा समूह परिचालित छन्। ती स्वयंसेविकाहरूले ४३ ठाउँमा मासिक ६६ पटक खोप सेवा सञ्चालन गरिरहेका छन्।
पालिका घोषणासँगै यसको दिगोपनाका लागि मासिक रूपमा तथ्यांकको फाइल अध्ययन गरिनेछ। वैशाख महिनाभित्र छुटेका बालबालिकालाई समेत खोप सुनिश्चित गरिने जनाइएको छ। वडा तहको तथ्यांक पालिकाले प्रमाणीकरणका लागि परीक्षण गर्नेछ भने त्यसको पुष्टि जिल्ला स्वास्थ्य कार्यालयले क्रस चेक गरेर गर्नेछ।
हेटौँडाको सफलताको सन्देश प्रदेशस्तरमा फैलिएको छ। जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेपछि बागमती प्रदेशलाई पुनः पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारीमा रहेको जनस्वास्थ्य निरीक्षक चौंलागाईंले जानकारी दिएका छन्।


















