हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालत मकवानपुरले हेटौंडा १ चौकिटोलका २२ वर्षीय राहुल दासलाई एउटै घरमा बस्ने ३५ वर्षीया भाउजू गुडिया दासको हत्या गरेको र २८ वर्षीय माहिला दाजु रुपेश दासको हत्या आरोपमा दोषी ठहर गर्दै सो फैसला सुनाएको हो। राहुल दासले चैत १३ गते बुधबार आफ्नी जेठी भाउजु गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेको थियो।
अदालतकी न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले जनाएका छन्। अदालतले मृतकको नजिकको हकदारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने र घाइतेको उपचार खर्चसमेत पीडकबाटै व्यहोर्ने आदेश दिएको छ।कौशिकका अनुसार भाउजूको हत्या अभियोगमा राहुललाई २५ वर्ष र माहिला दाजु रुपेशको हत्या प्रयासमा १० वर्ष थप गरी जम्मा ३५ वर्ष कैदको सजाय तोकिएको हो। अदालतले पीडित पक्षलाई १० लाख क्षतिपूर्ति दिलाउन आदेश दिएको छ भने १ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ। हत्यामा संलग्न दासलाई प्रहरीले घटनाकै दिन पक्राउ गरेको थियो। दास भिमफेदी कारगारमा पुर्पक्षका लागि थुनामा रहेका छन्।


















