रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

हेटौंडा टुडे
२०८२ असार २३, सोमबार १३:२१ गते

हेटौंडा । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-३ घर भएका २९ वर्षीय उत्तम खड्का रहेका छन् ।

पक्राउ मध्ये लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितहरूबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ र खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौँ महानगरपालिका-१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका-८ बाट आइतबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*