बागमती प्रदेशका ६४ स्थानमा १२० सीसीटीभी क्यामेरा जडान

हेटौंडा टुडे
२०८२ असार ३१, मंगलवार १३:१५ गते

हेटौडा । बागमती प्रदेशका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।

सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित प्रविधियुक्त ‘सीसीटीभी निगरानी प्रणाली’को मंगलबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । २०८२ जेठ १० गते सम्झौता गरिएको उक्त ठेक्का असार मसान्तभित्र सक्ने गरी कुल २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको बताइएको छ ।

नारायणगढ (चितवन), भिमान (सिन्धुली) र रातमाटे (मकवानपुर) जस्ता संवेदनशील स्थानहरूमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए । ट्राफिक व्यवस्थापन तथा अपराध नियन्त्रणमा ठोस योगदान दिने उनले विश्वास व्यक्त गरे ।

प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको छ भने विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली बन्द हुन नदिन युपिएस प्रणाली समेत जडान गरिएको उनको भनाइ छ । सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेर ठेक्का प्राप्त उक्त प्रणाली खरिद गरिएको उनले बताए ।

प्रविधिको सहयोगमा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित सुरू गरिएको यो परियोजना बागमती प्रदेश सरकारले सार्वजनिक सुरक्षामा प्रविधिको प्रभावकारी प्रयोग गर्ने दिशामा चालेको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*