चीनमा फसेका २ सय तीन जना नेपालीलाई आज स्वदेश फर्काइँदै

हेटौंडा टुडे
२०८२ श्रावण ७, बुधबार ११:३४ गते

हेटौंडा । गत असार २४ गते ल्हेंदे खोलामा आएको बाढीका कारण मितेरी पुल बगाएपछि चीनमा फसेका दुई सय तीन जना नेपालीहरूलाई आज नेपाल फर्काइँदैछ। रसुवाको मितेरी पुल सञ्चालनमा नआएकाले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो।

चिनियाँ भूभागमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गरेका थिए। भेटका क्रममा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भएको ढिलाइ, अस्थायी पुल निर्माण, मितेरी पुलको पुनर्निर्माण र मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानजस्ता विषयमा मन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।

नेपाल फर्किन लागेकामध्ये सवारी चालक, बिरामी, र नियमित औषधि सेवन गरिरहेका व्यक्तिहरू छन्। चीन सरकारले उनीहरूका लागि चिनियाँ भूमिमा यातायातको व्यवस्था गरेको छ भने नेपाल सरकारले तातोपानी नाकाबाट काठमाडौँसम्मको यातायात व्यवस्था मिलाएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*