हेटौंडा। गुगल म्याप्सको निर्देशनलाइ पुरा विश्वास गर्दा एक महिलाले आफ्नो कार पोखरीमा खसालेकी छन् । शुक्रबार बिहान भारतको नवी मुम्बईमा उनले आफ्नो अडी कार अन्जानमा खाल्डोमा हालेकी हुन् ।
भारतीय समाचारका अनुसार ती महिला बेलापुरबाट उल्वेतर्फ जान लागेकी थिइन् । त्यहीबेला दुर्घटनामा परेकी उनको सकुशल उद्धार भएको छ ।
समाचार अनुसार गुगल म्याप्सले उनलाई बेलापुरको ‘बे ब्रिज’मा चढाउनुको सट्टा पुल मुनिको बाटो देखाएको थियो । उक्त बाटो ध्रुवतारा जेट्टी तर्फ जान्थ्यो । म्याप्सको निर्देशनलाई विश्वास गरेर अघि बढेकी उनले गाडी सिधै पानीमा लगेर हालेकी हुन।
घटनालगत्तै नजिकै रहेको समुद्री सुरक्षाकर्मी तुरुन्तै उद्धारमा खटिइ केही मिनेट भित्रै महिलालाई उद्धार गरेका थिए। पछि क्रेनको मद्दतले उनको सेतो रङको कारलाई पनि बाहिर निकालिएको थियो । सामाजिक सञ्जालमा आएको एक भिडिओमा उद्धारकर्मीहरूले गाडीलाई पोखरीबाट निकालिरहेको देखिन्छ ।
गुगल म्याप्सले प्रयोगकर्तालाई गलत बाटो देखाएर दुर्घटना भएको यो पहिलो पटक होइन । यस्ता घटनाहरु धेरै पटक भएको छ। गत वर्ष पनि भारतको उत्तर प्रदेशको बदाउँ जिल्लामा यस्तै घटनामा परेर तीन जनाले ज्यान गुमाएका थिए । गुगल म्याप्स त्यस्तो चिज हो जस्ले धेरैलाइ मददत पनि गरेको छ र आफुले बाटो तर्फ ध्यान नदिदा समस्यामा पनि परीन्छ।


















