आज श्रावण शुक्ल पक्षको पञ्चमी हिन्दु धर्मावलम्बीहरूले नाग देवताको पूजा-आराधना गरी नागपञ्चमी पर्व मनाउँदैछन्। यस अवसरमा देशभरका विभिन्न नागस्थान तथा मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लाग्ने गर्दछ।
हिन्दु परम्परामा नाग पूजाको विशेष महत्त्व छ। आजको दिन घरको मूल ढोकामा नागको तस्बिर टाँसेर पूजा गर्नाले सर्पको भयबाट मुक्ति मिल्ने, घरमा सुख-शान्ति छाउने र धनधान्यले भरिपूर्ण हुने जनविश्वास रहिआएको छ। ज्योतिषीहरूका अनुसार यसरी पूजा गर्दा घरमा नाग, सर्पले दुःख नदिने धार्मिक मान्यता छ।
भक्तजनहरूले दूध, लावा, दूबो, चन्दन र विभिन्न प्रकारका फूलहरू चढाएर नाग देवतालाई प्रसन्न पार्ने गर्छन्। धर्मशास्त्रहरूमा नागलाई जल, वर्षा र समृद्धिको प्रतीकका रूपमा लिइन्छ। भगवान् शिवले आफ्नो गलामा नागको माला धारण गरेको तथा भगवान् विष्णु शेषनागको शैय्यामा विराजमान रहेको पौराणिक मान्यताले पनि नागको महत्त्वलाई उजागर गर्छ।


















