हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । सभापति देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री लामा साउन १४ गते नियुक्त गरेका मन्त्रीहरूलाई निरन्तरता दिनुपर्ने अडान राखेका थिए। मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका थिए ।
तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारका अनुसार नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री लामाले आइतबार राजीनामा दिने सहमति जुटेको थियो।मुख्यमन्त्री लामा साउन १४ गते पार्टीका प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँसँग दलको नेतामा पराजित भएका थिए । दलको नेताका लागि निर्वाचन हुनुअघि उनले आफूनिकट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए ।
दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामालाई राजीनामा दिन पार्टीभित्रैबाट दबाब परेको थियो । उनलाई सभापति देउवाले बिहीबार बेलुकी निवासमा बोलाएर मार्गप्रशस्त गर्न भनेका थिए । सभापति देउवाले शनिबार दलको नेतामा निर्वाचित प्रदेशसभा सदस्य बानियाँ, मुख्यमन्त्री लामालाई एकसाथ राखेर निकास निकालेका हुन् । बूढानीलकण्ठ छलफलमा लामाको पक्षमा रहेका १४ जना सांसदहरू पनि सहभागी थिए । त्यसपछि आइतबार लामाको राजीनामा आएको हो ।






















