भोली हरिबोधनी एकादशी, यस्तो छ धार्मिक महत्त्व

हेटौंडा टुडे
२०८२ कार्तिक १४, शुक्रबार १४:१३ गते

हेटौंडा । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व भोली मनाइँदैछ । यसलाई ठूली एकादशी वा देवोत्थान एकादशी पनि भनिन्छ। यो वर्षभरिमा पर्ने २४ वटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यसलाई हरिबोधिनी शब्दको अर्थ हो, भगवान् हरिलाई (विष्णुलाई) जगाउने एकादशी पनि हो।

सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर तुलसीलाई ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ। हिन्दू धर्मशास्त्र अनुसार, हरिबोधनी एकादशीमा व्रत बस्दा मात्र नभई नियमित रूपमा पूजा गरे विष्णु भगवान् विशेष कृपा गर्छन्।

एकादशीका दिन उपवास बसेर नारायणको आराधना गर्ने  र भोलिपल्ट द्वादशीमा हवन गरी विसर्जन गर्ने विधि छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ। आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता छ। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पुराणमा उल्लेख छ। विष्णुको अर्को नाम हरि हो। शयन अर्थात् सुत्ने कार्य। बोधको अर्थ हुन्छ, उठ्ने। यसैले यी दुई एकादशीको महत्त्व विशेष छ। यी दुई एकादशीलाई ‘ठूली एकादशी’ पनि भनिन्छ।

अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने पुराणमा उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्।

हरिबोधिनी एकादशीको महत्त्व : हरिबोधिनी एकादशीको धार्मिक र आध्यात्मिक महत्त्व असाध्यै उच्च छ। जुन हरि (विष्णु) को जागरणको दिन हो, भगवान् विष्णुले चार महिनाको योगनिद्रा पूरा गरी जाग्नुभएको विश्वास गरिन्छ। यस दिन गरिने पूजा, जप, तप र दानको फल अक्षय हुन्छ भनी भविष्योत्तर पुराणमा उल्लेख गरिएको छ। चातुर्मासको समाप्ति भनेको एकादशी चातुर्मासको समापनको सूचक हो। यसपछि नै हिन्दु धर्ममा शुभ विवाह, गृहप्रवेशजस्ता मंगल कार्यहरू गर्न सकिन्छ। ठूली एकादशी भन्नुको कारण छ। वर्षका सबै एकादशीको फल यसै एकादशीको व्रतबाट प्राप्त हुन्छ भन्ने मान्यताले यसलाई ठूली एकादशी भनिएको पनि हो। भगवान् कृष्णले युधिष्ठिरलाई यो एकादशीको महत्त्व बताउँदै यस दिन गरिने स्नान, दान, तपस्या आदि सबै कार्यले कहिल्यै नाश नहुने अर्थात् अक्षय फल प्रदान गर्ने बताउनु भएको छ।

तुलसी विवाह (शालिग्रामसँग तुलसीको विवाह) : हरिबोधिनी एकादशीको दिनमा तुलसी र भगवान् शालिग्राम (विष्णुको स्वरूप) को प्रतीकात्मक विवाह गर्ने परम्परा छ। जसलाई तुलसी विवाह भनिन्छ। यो विवाह उत्सवलाई अत्यन्तै हर्षोल्लासका साथ मनाइन्छ र यसलाई लोकजीवनमा हिन्दु विवाहको प्रारम्भिक सुरुवात पनि मानिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*