हेटौंडा सडक विस्तार: यहि मंसिर २० गतेबाट डोजर चल्ने, ५३१ घरटहरा भत्किने निश्चित

हेटौंडा टुडे
२०८२ मंसिर १४, आईतवार १५:५९ गते

हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका ५३१ घरटहरा भत्किने भएका छन् ।

सडक डिभिजन कार्यालय हेटौंडाले आइतबार पत्रकार सम्मेलनमा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) भित्र बनेका स्थायी र अस्थायी घरटहरा तथा अन्य गरी ५३१ संरचनाहरु भत्किने जानकारी गराएका हुन ।  सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ घरटहरा पर्ने उनको भनाइ छ । महेन्द्र राजमार्गको ६.३ किलोमिटर सडक क्षेत्रमा नेपाल बैंक, हिमालयन बैंक र ३ वटा पेट्रोल पम्प रहेकाले ती पनि भत्काइने उनले बताए ।

करिब ९.५ किलोमिटर सडक क्षेत्रभित्र रहेका २ बैंक, ३ पेट्रोल पम्पसहित अन्य भौतिक संरचनाहरू हटाउनुपर्ने उनले उल्लेख गरे ।

ती संरचनाहरू भत्काउँदा राज्यले मुआब्जा वा क्षतिपूर्ति दिन नपर्ने पनि उनले जानकारी दिए । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पनि सडक विस्तार अपरिहार्य रहेको उनको भनाइ छ । यसअघि गत मंसिर ५ गते सडक डिभिजन कार्यालय हेटौंडाले सार्वजनिक सूचना जारी गर्दै उक्त सीमा क्षेत्रभित्र पर्ने संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो । जसको अवधि अब ६ दिन रहेको छ ।

हाल कार्यालयले तोकिएको सीमाक्षेत्र भित्र सडक रेखाकंन र वैकल्पिक मार्ग पहिचानको कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ । “यसअघि सर्वाेच्चमा परेका सम्पूर्ण रिट खारेज भइसकेको अवस्था छ । फैसलाको आदेश खण्ड अनुसार राजमार्ग व्यवस्था ऐन २०२१ बमोजिम राजमार्गको क्षेत्र घोषित सडकको केन्द्रबाट दाँयाबायाँ २५/२५ गजसम्मको जग्गाको हकमा सो ऐनको दफा ५ को प्रतिबन्धात्मक वाक्याशंको अवस्था छ भनि प्रमाणित गर्न सकेको अवस्था बाहेक क्षतिपूर्ती पाउने अवस्था हुँदैन । निवेदकले सो अवस्था देखाई दावी गरेको अवस्था छैन । तसर्थ, सडक केन्द्रविन्दुबाट दाँयाबाँया २५/२५ गजको हकमा क्षतिपूर्ती वा मुआब्जा दिनु नपर्ने स्पष्ट व्यवस्था रहेको छ ।”

त्यसोत, घरधनी तथा व्यवसायीले तोकिएको अवधि सम्ममा सरंचना खाली नगरे कानुनी कारबाहि प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*