हेटौंडा । कागती एक बहुउपयोगी फल हो । दात, तरकारी, अचारदेखि चिया, मह, तातोपानी समेतमा मिसाएर कागती सेवन गर्ने गरिन्छ । खानेकुरालाई स्वादिलो बनाउने मात्रै नभएर स्वास्थ्यका हिसाबले पनि यो निकै लाभकारी हुन्छ ।
त्यसैगरी गर्मीमा धेरै मानिसहरू आफ्नो दिनको सुरुवात कागती पानीबाट गर्छन् । खाली पेटमा कागती पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै तौल घटाउन सहयोग पुग्ने विश्वास गरिन्छ । धेरै मानिसहरू हल्का चिसो मौसममा पनि कागती पानी पिउने गर्दछन् ।
तर जाडोमा भने यसको सेवनलाई बेवास्ता गर्न थाल्छन् । जाडोमा कागती पानी पिउँदा रुघाखोकी जस्ता समस्या हुनसक्ने धेरैको विश्वास छ । अब प्रश्न उठ्छ, जाडोमा कागती पानी पिउनु स्वास्थ्यका लागि साँच्चै हानिकारक हुन्छ त ?प्रत्येक मौसममा कागती पानी पिउनु फाइदाजनक मानिन्छ । जाडोमा कागती पानी पिउनाले शरीरलाई कुनै हानी हुँदैन । जाडो मौसममा संक्रमण र मौसमी रोगहरू बढ्छन् । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले मौसमी रोगको जोखिम कम गर्न सक्छ । कागती पानी नियमित पिउनाले शरीरमा रोगसँग लड्ने क्षमता बढ्छ, जसले जाडोमा रुघाखोकी, ज्वरो जस्ता समस्यालाई कम गर्छ ।
जाडो महिनामा कागती सेवन गर्नु कत्तिको राम्रो ?
विज्ञहरूका अनुसार जाडो महिनामा पनि कागतीपानी सेवन गर्नु शरीरका लागि राम्रो हो । किनभने यसले रोगप्रतिरोधी क्षमता बढाउन भूमिका खेल्छ । जाडो महिनामा खासगरी बिहानको समयमा तातोपानीमा मिसाएर कागती खानु उपयुक्त हुन्छ ।
हरेक दिन बिहान कागती पानीको सेवनले शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यसो हुँदा शरीरको पाचन प्रक्रिया राम्रो बन्छ । जाडोमा मेटाबोलिल्म अर्थात खानेकुरालाई ऊर्जामा परिणत बनाउने प्रक्रिया कम हुन्छ । कागती पानीले मेटाबोलिल्म सुधारका लागि सहयोग गर्छ ।
जर्नल अफ न्यूट्रिसनमा प्रकाशित अनुसन्धान अनुसार, साइट्रिक एसिड र हाइड्रेशन भएको पेय पदार्थले मेटाबोलिज्म दर बढाउन, भोक नियन्त्रण गर्न र तौल व्यवस्थापनमा प्रभाव पार्न सक्छ । यस कारण मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले मेटाबोलिज्म बढ्छ । कागतीमा रहेको साइट्रिक एसिडले शरीरको बोसो, विशेष गरी पेटको बोसो जलाउन मद्दत गर्ने कुरा अध्ययनहरूले देखाएका छन् ।
यी कारणहरूले गर्दा जाडोको समयमा पनि कागती पानी पिउँदा कुनै हानि गर्दैन बरु धेरै फाइदा नै हुन्छ । विशेषगरी खाना खाएपछि कागती पानी पिउनु बढी लाभदायक हुन्छ।


















