स्वास्थ्यमा नागरिकको पहुँच प्रदेश सरकारको विशेष प्राथमिकतामा छ : मुख्यमन्त्री बानियाँ

हेटौंडा टुडे
२०८२ मंसिर २३, मंगलवार १४:४६ गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले स्वास्थ्यमा नागरिकको सहज पहुँच प्रदेश सरकारको विशेष प्राथमिकता रहेको बताएका छन् । सिन्धुलीको तीनपाटन गाउँपालिकामा नवनिर्मित नगर अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले यस्तो बताएका हुन् । त्यसैगरी सो अस्पताल करिब १२ करोड रूपैयाँको लगानीमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको हो ।

शिक्षा, स्वास्थ्यजस्ता विषयलाई संविधानले नै नागरिकका मौलिक अधिकारको रूपमा ग्यारन्टी गरेको भन्दै उनले प्रदेश सरकार मौलिक अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न तत्पर रहेको बताए । ‘रोगमुक्त समाज, निरोगी नागरिक बनाउन प्रदेश सरकारले काम गरिरहेको छ । कुनै नवजात शिशु कुपोषणको शिकार नबनुन्, उमेरजन्य कारणले लाग्ने दीर्घ रोगहरू जस्तै- सुगर, प्रेसर, बाथ, युरिक एसिड, थाइराइडलगायत असाध्य रोग लागेका नागरिकलाई सहज र सरल सेवा दिन सकियोस् भनेर प्रदेश सरकार काम गरिरहेको छ,’ मुख्यमन्त्रीले भने ।

गणतन्त्र गरिबको व्यवस्था हो भन्दै उनले मुलुकमा लाभको अवस्थामा रहेको युवा शक्तिलाई प्रविधिमैत्री बनाउँदै रोजगारी सिर्जना गरिने बताए । मुलुकभित्रै केही भएन भन्दै असन्तोषको खेती भइरहेको चर्चा गर्दै मुख्यमन्त्री बानियाँले त्यसलाई चिर्दै भइरहेका विकासका कामलाई नागरिकसमक्ष पुर्याउन लागि पर्नु पर्ने बताए । विकासका पूर्वाधारसँगै नागरिकलाई अर्थोपार्जन गर्ने सीप विकास र लगानीसमेत दिनुपर्ने काममा प्रदेश सरकार लागि परेको बताए ।

बाटो बनाइदिएर मात्र भएन, खल्तीमा नोट कसरी आउँछ भनेर उनीहरूलाई सीप र पूँजीको व्यवस्थासमेत गरिदिनुपर्ने हुन्छ, हामी त्यसतर्फ अग्रसर छन्,’ मुख्यमन्त्रीले भने । विघटित प्रतिनिधिसभाका सदस्य श्याम घिमिरेले अवैधानिक र असंवैधानिक रूपमा संसद् भंग गरिएको भन्दै सरकार गठन समेत असंवैधानिक रूपमा गरिएको बताए । तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापा मगरले सीमित स्रोतसाधनबीच पनि विकासका पूर्वाधार निर्माणलाई पालिकाले पहिलो प्राथमिकता दिएको बताए ।

पूर्वाधार विकाससँगै नागरिकलाई सीप विकासमा पनि ध्यान दिइएको अध्यक्षको भनाइ छ । नागरिकको आर्थिक समृद्धिका लागि पालिका भित्र कृषि, पशुपालन जस्ता क्षेत्र पहिचान गरी कार्यक्रम लागू गराइएको बनाए । सुविधाजनक बाटो नहुँदा विरामीले बाटैमा ज्यान गुमाउनु परिरहेको सन्दर्भहरू उल्लेख गरे । उनले सडक निर्माणमा प्रदेश सरकारसँग ठूलो भरोषा रहेको बताए । करिब १२ करोड रूपैयाँको लगानीमा नगर अस्पताल भवन निर्माण सम्पन्न भएको हो । कार्यक्रममा विघटित प्रतिनिधिसभा सदस्य श्याम घिमिरे, संविधानसभा सदस्य मोहन बराल, नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति उज्वल बराल लगायत सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*