हेटौंडा । घाँटीको क्यान्सर भन्नाले खाना खाने नलीको क्यान्सर,फोक्सोभन्दा माथि आवाज आउने ठाउँको क्यान्सर र बाहिरी भागमा हुने थाइरोकल्याण्डको क्यान्सर र कहिलेकाहीँ थुक ग्रन्थीहरूमा सुन्निएर हुने क्यान्सरलाई बुझिन्छ।अझै सजिलो तरिकाले बुझ्नका लागि मुखबाट सुरू भएर खाना खाने नली हुँदै तल पेटसम्म जोडिएको इसुफेगसको माथिल्लो भागसम्म हुने रोग घाँटीको क्यान्सरमा पर्छ।
घाँटीको क्यान्सर हुने मुख्य तीन कारण छन्। एउटा प्रदूषणदेखि खानपिनको अम्मलले हुन्छ। धेरैजसो हुने भनेको अम्मलकै कारणले हो। जाँड, रक्सी, सुर्ती, चुरोटले गर्दा मुखको, घाँटीको क्यान्सर हुने खतरा हुन्छ।
दोस्रो वंशाणुगत कारणले हुन्छ। जसमा परिवारका कोही सदस्यलाई भएको छ भने पछिल्लो पुस्तालाई पनि जाने हुन्छ। विशेष गरेर थाइरोइडका कतिपय क्यान्सरहरू वंशाणुगत रूपमै देखिन्छ। अर्को आफ्नै शरीरको बनावटले पनि हुने हुन्छ।
घाँटीमा मांसपेशीहरू मिलेर बनेको नली जस्तो संरचना हुन्छ, जुन नाकको पछाडिबाट सुरु हुन्छ र घाँटीको आधारमा समाप्त हुन्छ। यसमा त्यस्ता संरचनाहरू हुन्छन् जसले हामीलाई बोल्न, निल्न र सास फेर्न सक्षम बनाउँछन्, जस्तै आवाज बक्स (ल्यारिन्क्स), भोकल कर्ड, एपिग्लोटिस, टन्सिल र ओरोफ्यारिन्क्स।
- आवाज बक्स, जसमा कार्टिलेज र कम्पनहरूद्वारा ध्वनि सिर्जना गर्ने भोकल कर्डहरू हुन्छन्।
- एपिग्लोटिस, जुन कार्टिलेजबाट बनेको हुन्छ र यसले श्वासनलीको ढक्कनको रूपमा काम गर्छ।
- टन्सिलहरू, जुन घाँटीको पछाडि अवस्थित नरम संरचनाहरू हुन्
घाँटी क्यान्सरका लक्षण
लगातार घाँटी दुख्नु घाँटी क्यान्सरको अति सामान्य लक्षण हो। घाँटीमा क्यान्सर हुन लागेको छ भने अधिकांशलाई निल्ने समयमा अत्यन्तै दुखाइ हुन्छ। साथै खानेकुरा घाँटीमै बसिरहेको जस्तो अनुभव हुन्छ। शब्द उच्चारण गर्न समेत कठिन भई आवाज सानो र धोत्रो हुँदै जान्छ।
साथै, घाँटी सुन्निदैं जानु, घाँटीमा डल्लो देखापर्नु, असमान्य रुपले तौल घट्नु, जिब्रो चलाउँन गाह्रो हुनु, मुख खोल्दा अप्ठ्यारो हुनु, मुख भित्र लगातर सेतो घाउ आउनु, खकारमा रगत देखिनु, नाकबाट रगत बग्ने तथा टाउको दुख्ने लगायतका समस्या देखिन्छ। घाँटी क्यान्सरका यस्ता लक्षण देखापरेमा तुरुन्त चिकित्सलाई देखाइहाल्नु पर्छ।
उपचार के हो?
क्यान्सरको प्रकृति अनुसार यसको उपचार हुन्छ। घाँटीमा हुने धेरै खालका क्यान्सरको पहिलो उपचार शल्यक्रिया हो। नाकको फेदको क्यान्सर जसले गर्दा घाँटीमा डल्ला हुन्छ। त्यसको उपचार रेडियसनबाट गरिन्छ।
शल्यक्रिया गरेर रोगलाई पूरै निकालेर फाल्ने त्यसपछि रोगको प्रकृति र बायस्पी रिपोर्ट हेरेर थप उपचार गरिन्छ। समग्रमा भन्ने हो भने क्यान्सरमा धेरै प्रयोग गरिने उपचार विधि शल्यक्रिया रेडियसन अनि किमोथेरापी हो।यद्यपि अहिले इम्युनो थेरापी र थार्गेट थेरापी पनि गरिन्छ।
कस्ता व्यक्तिलाई बढी खतराः
क्यान्सर सेन्टरकाअनुसार ६५ वर्ष उमेरमाथिका जुनसुकै व्यक्तिलाई घाँटी क्यान्सर हुने हुन्छ। त्यसमा पनि सबैभन्दा बढी पुरुषलाई हुने गर्छ। यदि उल्लेखित कुनै लक्षणको अनुभव तीन हप्ताभन्दा बढी भएमा चिकित्सकलाई देखाइहाल्नुपर्छ। अहिले नेपालमै पनि विभिन्न उपकरणमार्फत घाँटी क्यान्सरको परीक्षण तथा उपचार हुने गरेको छ। त्यस्ता लक्षण देखिएका व्यक्तिको रिर्पोट ‘पोजेटिभ’ देखिएमा कुन ‘स्टेज’को क्यान्सर हो थाहा हुन्छ।


















