हेटौंडा । विश्व ध्यान दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसंघको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।विश्व ध्यान दिवस २०२५ को लागि, ‘एकमा परिवर्तन भनेको लाखौंमा परिवर्तन हो’ भन्ने नारा तय गरिएको हो । व्यक्तिगत रूपान्तरणको लहर प्रभावलाई प्राथमिकता दिदै संयुक्त राष्ट्र संघको ‘भित्रबाट संसारलाई निको पार्ने’ आह्वानलाई स्थिरता दिदै यस बर्षको विश्व ध्यान दिवसको नारा तय गरिएको छ ।
मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ । प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।
विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्वबारे जागरूक बनाउने उद्देश्य राख्दछ । यो दिन विशेषगरी तनाव व्यवस्थापन, आत्मचिन्तन, र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान दिवसलाइ महत्वपुर्ण मानिन्छ ।


















