भारतमा ग्यास सिलिन्डर विस्फोट: दुई परिवारका ९ जना नेपालीको मृत्यु

हेटौंडा टुडे
२०८२ पुष २९, मंगलवार १२:२९ गते

हेटौंडा । भारतको हिमाचलमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। सोमबार राति सुतिरहेको अवस्थामा कोठाभित्र राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट भई भीषण आगलागी हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका नौ जनाको मृत्यु भएको हो।

घटना यति भयावह थियो कि विस्फोटसँगै फैलिएको आगोले पीडितहरू बसोबास गरिरहेका घर पूर्ण रूपमा ध्वस्त हुनुका साथै वरपरका अन्य घरहरू समेत जलेर नष्ट भएका छन्।

एकै परिवारका पाँच जनाको घटनास्थलमै विस्फोटबाट सबैभन्दा बढी क्षति एकै परिवारले बेहोरेको छ। घटनास्थलमै ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विकको ज्यान गएको पुष्टि गरिएको छ।

सुतिरहेको अवस्थामा अचानक आगो फैलिँदा उनीहरू बाहिर निस्कने मौका समेत नपाई जलेर मृत्यु भएको जनाइएको छ। अर्को परिवारका चार जनाको पनि ज्यान गयो उक्त घटनामा सोही गाउँका अर्का स्थानीय ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ। विस्फोटपछि घरभित्रै थुनिएर उनीहरूको ज्यान गएको प्रारम्भिक जानकारी आएको छ।

दुई परिवारका ९ जनाको मृत्यु भएपछि अहिले वडा पूरै शोकमा डुबेको र मंगलबार शोक बिदा दिने निर्णय गरेको उनले जानकारी आएको छ ।

घटनास्थलबाट ग्यास सिलिन्डरका टुक्रा फेला परेका छन्। प्रारम्भिक अनुसन्धान सकिएपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ। यस घटनापछि भारतमा रहेका नेपाली श्रमिकहरूको आवासीय सुरक्षाबारे पुनः गम्भीर प्रश्न उठेको छ। सुरक्षित बसोबास, ग्यास प्रयोगमा सावधानी र आपतकालीन पूर्वतयारीको आवश्यकता रहेको सरोकारवालाहरूले औंल्याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*