हेटौंडा । देश र जनताका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। २००७ सालपछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ ।
इतिहासको विभिन्न कालखण्डमा देश र जनताका लागि अग्रगामी परिवर्तका लागि भएका विभिन्न आन्दोलन, संघर्ष आदिमा मृत्युवरण गरेका वीर शहीदहरूप्रति श्रद्धा अर्पण गर्दै देशभर शहीद दिवस मनाइने गरिन्छ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
उनीहरूले हाँसीहाँसी देश र जनताका लागि देखाएको त्याग राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
पछिल्लो कालखण्डमा निरङ्कुश पञ्चायती व्यवस्था तथा राजतन्त्रका विरुद्धका अहिंसात्मक तथा शान्तिपूर्ण प्रजातान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्झना तथा सम्मान यसै दिवसमा गरिन्छ ।


















