चुनाव पछिको प्रतिनिधिसभा बैठक नयाँ संसद भवनमा बस्ने

हेटौंडा टुडे
२०८२ माघ १९, सोमबार १३:४७ गते

हेटौंडा। आगामी  फागुन २१ गतेको चुनाव पछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ ।

निर्वाचनपछिको संसद् सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद् भवन उपलब्ध गराउने जानकारी गराइसकेको संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए। आइतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए।

624160913_2401600880311616_1791900983634903959_n-1770015743.png

उनका अनुसार प्रतिनिधिसभा गठन भइसकेपछि राष्ट्रियसभाको बैठक समेत सोही निर्माणाधीन संसद् भवनबाटै सञ्चालन हुनेछ। प्रवक्ता गिरीले निर्माणाधीन संसद् भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्ने गरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए। उनले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद् सञ्चालन गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए।

गिरीले भने, ‘अब गठन हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक निर्माणाधीन संसद् भवनमै बस्ने जानकारी सरकारले गराएको छ। अहिले त्यहाँ ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ। अबको एक महिनामा बाँकी काम सम्पन्न गरेर चैतको पहिलो हप्तासम्म सचिवालयलाई उपलब्ध गराउने भन्ने छलफल भएको छ।’

यसअघि संसद् बैठक बस्दै आएको काठमाडौँको बानेश्वरस्थित अन्ताराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए। उक्त भवनको पुनर्निर्माण अझै सुरु भएको छैन।हाल राष्ट्रियसभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*