हेटौंडा । नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रुपमा एलपीजी ग्यास स्टक नगर्न आग्रह गरेको छ। चुनाव नजिकिँदै जाँदा ग्यास अभाव हुन सक्ने हल्ला फैलिए सँगै उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास स्टक गर्न थालेपछि बजारमा आपूर्तिमा केही समस्या देखिएको निगमको बुझाइ छ ।
निगमका प्रवन्ध निर्देशक चण्डिका भट्टले भारतबाट मागभन्दा धेरै ग्यास आयात भइरहेको र आगामी चुनावको अवधिभर पनि ग्यासको आपूर्ति निरन्तर हुने व्यवस्था कायम रहेको बताएका छन्।
अभाव हुने आशंकामा एकै परिवारले एकभन्दा बढी सिलिन्डर स्टक गर्ने प्रवृत्तिले बजार व्यवस्थापनमा चुनौती थपिएको निगमको भनाइ छ।
नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन (आइओसी) बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।
‘लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट (करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर), सोमबार ११५ बुलेट (करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर) र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ,‘ तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा रहेका छन् ।
निगमले हल्लाको पछि नलागी आवश्यक मात्रामा मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै अनावश्यक स्टकले वास्तविक उपभोक्ता मारमा पर्ने चेतावनी दिएको छ। साथै, नियमित आपूर्ति प्रणालीलाई सहज बनाउन निगम सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।


















