निर्वाचनका लागि मकवानपुरमा ३ हजार भन्दा बढी कर्मचारी खटिँदै

हेटौंडा टुडे
२०८२ माघ २२, बिहीबार ११:५५ गते

हेटौंडा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको ३७४ मतदान केन्द्रमा स्वयं सेवकसहित तीन हजार ३६६ कर्मचारी निर्वाचन अवधिमा  खटिने भएका हुन् ।

एउटा मतदान केन्द्रमा आयोगबाट ६ जना कर्मचारी र मतदान केन्द्र रहेको स्थलमा ३ जना स्वयं सेवक नियुक्त गरिनेछ।

निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेकोले निर्वाचन कार्यालयबाट दुई हजार २४४ जना र मतदान केन्द्रमै नियुक्त हुने स्वयम् सेवक एक हजार १२२ जना कर्मचारी मतदान अवधिभर परिचालन हुने भएको हो ।  यसबाहेक निर्वाचनमा निर्वाचन स्थलको संवेदनशीलता र आवश्यकताका आधारमा निर्वाचन प्रहरी परिचालन हुने छन् ।

४० वटा वडा रहेको मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ६२ वटा मतदान स्थल र १७८ वटा मतदान केन्द्र रहेका छन् । ६२ वटा वडा रहेको क्षेत्र नम्बर २ मा १०५ वटा मतदान स्थल र १९६ वटा मतदान केन्द्र छन् । यी मतदान केन्द्र बाहेक जिल्लाको पूर्व सदरमुकामस्थित भीमफेदी कारागारमा र कर्मचारीका लागि हेटौँडा अस्थायी मतदान केन्द्र रहने भएको छ ।

मकवानपुरमा कुल मतदाता तीन लाख १५ हजार ३३४ कायम भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष ७९ हजार ६२१, महिला ७८ हजार ८१० र अन्य चार गरी एक लाख ५८ हजार ४३५ र क्षेत्र नम्बर २ मा ८२ हजार ३३२ पुरुष, ७४ हजार ५६६ महिला र एक अन्य गरी एक लाख ५६ हजार ८९९ मतदाता छन् ।

निर्वाचनका लागि मसी, मतपेटिका लगायतका ५२ प्रकारका सामग्री पर्ने भन्दै केही सामाग्री कार्यालयमा रहेको र कतिपय सामान आयोगबाट व्यवस्थापन आउने क्रममा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*