हेटौंडा । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बजारमा दैनिक उपभोग्य वस्तुको उपलब्धता र मूल्यलाई लिएर चिन्ता बढ्न थालेको छ। विगतका चुनावी अनुभवजस्तै यसपटक पनि बजारमा चामल, दाल, खाने तेल, चिनी, ग्यासलगायत अत्यावश्यक वस्तुहरूको अभाव हुन सक्ने आशंकाले उपभोक्ताहरू असहज अवस्थामा पुगेका छन्।
अब प्रश्न उठ्छ, सधैं चुनावमा किन दैनिक उपभोगका वस्तुको अभाव हुन्छ ? के चुनाव र महँगीबीच कुनै अदृश्य साइनो हुन्छ ? चुनाव आउने बित्तिकै दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने नेपाली बजारको पुरानै रोग हो । अहिले पनि बजारमा मूल्य वृद्धि हुनुका साथै मूलतः खाना पकाउन प्रयोग गरिने एलपी ग्यासको अभाव भएको छ ।
समस्या यता पनि छ, उपभोक्ताहरूले अभाव हुने डरले पनि आवश्यकता भन्दा बढी सामान किनेर घरमै भण्डारण गर्न थालेका छन्, जसले बजारमा वास्तविक अभाव झनै गहिरिँदै गएको देखिन्छ।यसले विशेषगरी न्यून आय भएका परिवार, मजदुर वर्ग र साना व्यवसायीहरूलाई प्रत्यक्ष असर पारिरहेको छ।
त्यसैगरी, नेपालमा चुनाव र मूल्यवृद्धि बीचको साइनो कति गहिरो छ भन्ने कुरा २०७९ सालको तथ्यांकले पनि स्पष्ट देखाइदिएको छ ।
निर्वाचनका बेला सुरक्षा र प्रशासनिक निकायहरू चुनावले गराउनतिर केन्द्रित हुँदा बजारमा बिचौलिया र ठूला व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर पुरानो स्टकसमेत नयाँ र महँगो मूल्यमा बेचेका प्रशस्त उदाहरण २०७९ सालको बजारमा देखिएका थिए ।
यति बेला, कतिपय उपभोक्ता त सधैँ किन्ने गरेको पसलहरूमा ग्यास नपाए पछि दिनभरको काम माया मारी रित्तो सिलिन्डर बोकेर कम्पनीको कार्यालयसम्म पुग्न थालेका छन् । कम्पनीमै पुग्दा पनि उनीहरूले ग्यास पाउन सकेका छैनन् ।
नेपाल आयल निगमले ग्यासको अभाव नभएको भन्दै उपभोक्तालाई ढुक्क हुन सार्वजनिकरूपमा आश्वासन दिएको थियो ।
निगमको यो आश्वासन पनि झुटै साबित भएको छ । बजारमा ग्यास पाइएको छैन । खुद्रा विक्रेताहरूले ग्यास कम्पनीहरूबाटै नआएको बताउने गरेका छन् । निगम र कम्पनीवालाहरू त ग्यासको अभाव रहेको मान्नसमेत तयार छैनन् ।
सके त सधैँ नभए पनि कम्तीमा देशमा चुनाव हुन लागेका बेला जनताका दैनिक उपभोग्य वस्तुको अभाव वा कृत्रिम मूल्य वृद्धि हुन नदिने दायित्व राज्यको हो । यसैले सरकारका सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरू पनि कृत्रिम अभाव र मूल्य वृद्धि रोक्न चनाखो हुनु आवश्यक छ ।
बजारमा देखिएको यो बेथितिमा सरकारी निकायहरूको मौनता र फितलो अनुगमन प्रमुख कारक रहेको देखिन्छ।


















