निर्वाचन आउन अब ११ दिन मात्र बाँकी: आचारसंहिता उल्लङ्घनमा कडा निगरानी

हेटौंडा टुडे
२०८२ फाल्गुन १०, आईतवार १३:३३ गते

हेटौँडा । निर्वाचनलाई सहभागितामूलक बनाउँदै बदर मत घटाउने लक्ष्यसहित निर्वाचन आयोगले देशभर मतदाता शिक्षा अभियानलाई तीव्र बनाएको छ। मताधिकारको महत्व र मतदान प्रक्रियाबारे आमनागरिकलाई स्पष्ट जानकारी दिन आयोगले स्वीकृत कार्यक्रमअनुसार स्वयंसेवक परिचालन गरेको जनाएको छ।

फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदातालाई नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका सिकाइँदै छ। आयोगले यस अभियानलाई ‘मतदाता शिक्षाको घरदैलो’ नाम दिएर व्यवहारिक सिकाइमा जोड दिएको जनाएको छ।

निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्तिले चुनावी वातावरण प्रभावित पार्ने खतरा बढेको भन्दै निर्वाचन आयोगले मतदाता शिक्षा अभियानसँगै डिजिटल निगरानीलाई तीव्र बनाएको छ।

साथै, निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइने भ्रामक सूचना, नक्कली सर्वेक्षण र घृणास्पद सामग्रीको निगरानी गर्न आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत चुनावलाई प्रभावित पार्ने प्रयास बढेको निष्कर्ष निकाल्दै आयोगले २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिएको छ।

यस्तै, ११ वटा प्रकरण नेपाल दूरसञ्चार प्राधिकरणमा, ६५ वटा प्रेस काउन्सिल नेपालमा र एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन अन्तर्गत सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ। आयोगका अधिकारीहरूका अनुसार कानुनी कारबाहीसँगै मतदातालाई सही सूचना पहिचान गर्न सक्ने क्षमता विकास गराउन शिक्षा अभियानलाई प्राथमिकतामा राखिएको हो।

निर्वाचन स्वच्छ, भयरहित र सूचनामैत्री बनाउन स्थानीय तहका अनुगमनकर्तामार्फत अभियानको नियमित अनुगमन भइरहेको आयोगले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*