एमालेले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, वडादेखि प्रदेशसम्मै सरकार विरोध प्रदर्शन गर्ने

हेटौंडा टुडे
२०८२ चैत्र १७, मंगलवार १६:३२ गते

हेटौंडा। एमालेले सरकारले प्रतिशोध साँधेको भन्दै केन्द्रदेखि वडातहसम्मै विरोध प्रदर्शनका कार्यक्रमको स्वरुप फेरेको छ । मंगलबार बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले देशव्यापी रूपमा सरकारको रवैयाविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि एमाले सरकारविरुद्ध आक्रामक भएको छ । यसैको विरोधस्वरुप विरोध र प्रदर्शनमा उत्रिएको एमालेले कार्यक्रमलाई विरोधबाट भेला, जनपरिचालन र सभामा बदलेको छ ।

कार्यक्रमअन्तर्गत चैत २५ मा सबै जिल्ला कमिटीमा कार्यकर्ता भेला र प्रशिक्षण गर्ने भएको छ । चैत २८ मा ७५३ वटै पालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम ल्याएको छ । वैशाख ३ मा देशभरका ६ हजार ७४३ वटै वडामा भेला गर्ने, वैशाख ७ प्रदेशस्तरीय विरोध प्रदर्शन गर्ने र वैशाख १२ मा काठमाडौंमा विरोधसभा गर्ने घोषणा एमालेको छ ।

यस्ता छन् थप आन्दोलनका कार्यक्रम

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गर्ने ।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने ।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने ।
६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने । यसका साथै, भोलि (चैत १८) बिहान ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने ।
७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो ।
८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव पद्मा अर्याललाई दिइयो । यसका साथै, भोलि दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने ।
९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*