हेटौंडा। देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्। आइतबार बिहान ८ बजेसम्मको आधिकारिक तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमनमा अवरोध पुगेको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द छन् भने केही स्थानमा जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको छ।
बाढी र पहिरोको सबैभन्दा ठूलो मार कोशी प्रदेशमा परेको छ। विशेषगरी पाँचथर जिल्लामा मध्यपहाडी लोकमार्गका विभिन्न खण्ड पूर्ण रूपमा बन्द भएका छन्। जेठ ८ गते गएको बाढी र पहिरोका कारण पाँचथरको याङवरक गाउँपालिकाअन्तर्गत वडा नम्बर ३ को ओयाम बजार र रिजालभिर तथा वडा नम्बर २ को दोभानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रदेशको भोजपुर नगरपालिका ५ बोखिममा बाढीले क्षति पुर्याएको मध्यपहाडी लोकमार्ग हाल एकतर्फी सुचारु भएको छ र त्यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ। त्यसैगरी, पहिरोले अवरुद्ध संखुवासभाको मकालु गाउँपालिका ३ नयाँ बस्तिस्थित कोशी राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।
कर्णाली प्रदेशको हुम्ला जिल्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण वैशाख २९ गतेदेखि नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा-सिमकोट सडक खण्डमा यातायात सञ्चालन गर्न दिइएको छैन।
गण्डकी प्रदेशको म्याग्दी जिल्लामा बेनी-जोमसोम सडक खण्ड दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोका कारण प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा वैशाख १६ गते र रघुगंगा गाउँपालिका ३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरो पन्छाएर हाल उक्त सडक खण्ड एकतर्फी मात्र सुचारु गरिएको छ। सडक पूर्ण रूपमा नखुल्दा यात्रुहरूले सास्ती व्यहोर्नु परेको छ।






















