हेटौंडा । नेपाली फिल्म ‘लालीबजार’ गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको चौथो सातामा पनि उत्साहजनक दर्शक सहभागिता सहित प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गरेको फिल्मले देशभर १ सय ९२ शो प्राप्त गरेको छ । शनिवार अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । प्राप्त शोमध्ये ९० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको र अधिकांश शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।
चौथो सातामा पनि हलमा दर्शकको उस्तै चाप र उत्साह देखिएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा तथा कार्यकारी निर्माता प्रदीप भट्टराईले विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए
सुरुआती चरणमा कानुनी झन्झट र विभिन्न विवादका कारण चर्चामा रहेको ‘लालीबजार’ दर्शकको सकारात्मक साथका कारण यस वर्ष २०८३ मा प्रदर्शन भएका फिल्महरूमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले हालसम्म झन्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । दर्शकको निरन्तर साथलाई आधार मान्दा आगामी दसैंअघि यसको व्यापारिक सफलता उछिन्न अन्य फिल्मलाई चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।
फिल्मले हजुरबुवादेखि नाति पुस्तासम्मका दर्शकलाई हलसम्म तान्न सफल भएको निर्माण पक्षको दावी छ । यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्मले १० करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने विश्वास प्रदर्शकहरूले व्यक्त गरेका छन् । ‘लालीबजार’को विषयवस्तु, निर्देशन तथा कलाकारहरूको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । फिल्म हेरेर बाहिरिने अधिकांश दर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको अनुभूति भएको तथा फिल्मले भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।






















