हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिले राजनीतिमा तरंगित पैदा भएको छ। पछिल्लो समय विभिन्न राजनीतिक तथा संसदीय विषयलाई लिएर आलोचित बन्दै आएका छन् प्रधानमन्त्री बालेन शाह । ‘कम बोल्ने र कामबाट नै जवाफ दिने’ शैली अपनाउँदै आएका प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रम तथा संसदमा समेत कमै उपस्थित हुने गरेका छन् ।
पछिल्लो समय संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनुपर्छ भन्दै सांसदहरूले आवाज उठाइ रहेका थिए । सांसदहरूले लामो समयदेखि प्रधानमन्त्री संसदमा उपस्थिती हुनुपर्छ र जनप्रतिनिधिहरूका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका थिए ।
सांसदहरूको निरन्तरको मागलाई सम्बोधन गदै प्रधानमन्त्री बालेन्द्र शाह हिजो आइतबार सदनमा उपस्थिति भएका थिए । उनको उपस्थिति केही क्षण सरप्राइज नै बन्यो । प्रतिपक्षमा रहेका सांसदहरु अचम्ममा परे । किनभने उनको उपस्थितिबारे पूर्वजानकारी न सभामुखलाई थियो, न सांसदहरूलाई नै ।
प्रधानमन्त्री शाहले संदनमा सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए । भारतले सीमा मिचेको सम्बन्धी प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले भने,‘म प्रधामन्त्री भएपछि थाहा पाए कि भारतले मात्र होइन, नेपालले पनि विभिन्न ठाउँमा भारतको जग्गा मिचेको छ ।’
अप्रत्यासित र आश्चर्यजनक उनको जवाफबारे सर्वत्र चासोको विषय बनेको छ ।
प्रधानमन्त्रीको उक्त जवाफप्रति विभिन्न राजनीतिक दलहरूले आपत्ति जनाउनका साथै स्पष्टिकरण समेत मागेका छन् । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भूभागमा भारतले सिमा मिचेको अवस्थामा सरकारले नेपालको आधिकारिक अडान कमजोर बनाउने खालको अभिव्यक्ति भएको आरोप लाएका छन् ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा थप स्पष्टीकरण माग गरेका छन् । सीमा सम्बन्धी जानकारहरुले पनि प्रधानमन्त्री अभिव्यक्तिमा सत्यता नभएको बताइरहेका छन् ।
त्यसैगरी, विपक्षी दलहरूले उक्त अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत र तथ्यहीन भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।
सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति व्यक्तिगत धारणा हो वा सरकारको आधिकारिक दृष्टिकोण हो भन्ने विषयमा समेत प्रश्न उठिरहेका छन् । आगामी दिनमा सरकारले यस विषयमा के स्पष्टीकरण दिन्छ भन्ने चासोको विषय बनेको छ ।





















