हेटौडा । १९ टोल विकास संस्थाका ३८ समूहद्वारा २,२०० केजी अजैविक फोहोर संकलन विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको सहयोग, टोल विकास संस्था नगर समन्वय समितिको आयोजना तथा टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–८ को व्यवस्थापनमा आयोजित “फोहोर खोज चुनौती कार्यक्रम” सम्पन्न भएको छ ।
हेटौंडा–८ मा आयोजित कार्यक्रममा १९ वटा टोल विकास संस्थाका ३८ वटा समूहहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागी समूहहरूले आफ्नो क्षेत्रबाट अजैविक फोहोर संकलन गरी जम्मा २,२०० केजी फोहोर व्यवस्थापनका लागि संकलन गरेका छन्। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य गोरख राय, नगर समन्वय समितिका सचिव तथा कार्यक्रम संयोजक शुशिला मल्ल, वडा समन्वय समितिका अध्यक्ष कुमार केसी लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एकलाल श्रेष्ठले वातावरण संरक्षणका लागि समुदायस्तरबाट सञ्चालन गरिएका यस्ता अभियानहरूले नागरिकमा जिम्मेवारी बोध गराउने र स्वच्छ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो। उहाँले वातावरण संरक्षणलाई व्यवहारमा उतार्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रमका सभाध्यक्ष ध्रुव प्रसाद अधिकारीले प्लास्टिकजन्य तथा अन्य अजैविक फोहोरको उचित व्यवस्थापन आजको आवश्यकता भएको बताउँदै “स्वच्छ, हरियाली र प्लास्टिकमुक्त हेटौंडा” निर्माणका लागि टोलस्तरबाट अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
प्रतियोगिताको नतिजाअनुसार कालिका टोल विकास संस्था (प्रथम, विकास टोल (समूह A) द्वितीय तथा मनकामना टोल (समूह C) तृतीय भएका छन्। त्यसैगरी कालिका टोल (समूह A), मनकामना टोल (समूह B), बिन्दबासिनी टोल (समूह A) र सृजना टोल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा प्रथम हुने समूहलाई रु. १०,०००/-द्वितीयलाई रु. ७,५००/-तृतीयलाई रु. ५,०००/-तथा सान्त्वना प्रत्येक समूहलाई रु. २,५००/- पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
उक्त पुरस्कारहरू विश्व वातावरण दिवस–२०८३ (जेठ २२ गते) आयोजित विशेष समारोहमा वितरण गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा सहभागी टोल विकास संस्था, स्वयंसेवक तथा स्थानीयवासीहरूले वातावरण संरक्षण, फोहोर व्यवस्थापन र सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। यस कार्यक्रमले समुदायस्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ।




















