चैत २१,काठमाण्डौ – विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलिँदा १० लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये दुई लाखभन्दा धेरै निको भएका छन् । अहिलेसम्म १० लाख १४ हजार दुई सय ९६ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् । ७ लाख ४९ हजार २ सय ९६ जनाको उपचार भइरहेको छ । भाइरसको सङ्क्रमणबाट विश्वभर अहिलेसम्म ५२ हजार ९ सय ८२ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा सबैभन्दा धेरै फ्रान्समा एक हजार तीन सय ५५ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ ।
त्यसपछि स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय ६१ जनाको ज्यान गएको छ । स्पेनमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या १० हजार तीन सय ४८ पुगेको छ भने इटलीमा सबैभन्दा धेरै १३ हजार ९ सय १५ जनाको ज्यान गएको छ । इटलीमा बिहीबार मात्रै सात सय ६० जनाको ज्यान गएको छ ।
यसैगरी अमेरिकामा थप सात सय ८१ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार आठ सय ८३ पुगेको छ । अमेरिकामा सङ्क्रमितको सङ्ख्या इटालीको भन्दा दोब्बरले बढी छ । अमेरिकामा मात्रै दुई लाख ४४ हजार दुई सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटलीमा सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार दुई सय ४२ पुगेको छ ।
चीनमा भने ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय १८ जना छ । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ भने ३५ जना नयाँ बिरामी थपिएका छन् ।
यसैबीच कोरोनाको सङ्क्रमण विश्वका दुई सय चार देशमा फैलिएको छ । टिमोर लेस्टेमा पनि एक जनामा कोरोना पुष्टि भएपछि कोरोना सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय चार पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोनाको सङ्क्रमण फैलिँदा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको हो ।उज्यालो अनलाइनमा समाचार छ ।