विकास निर्माणको काममा दृढ इच्छाशक्ति भयो भने,लकडाउन कुनै आइतबार होइन:भीमफेदी–कुलेखानी सडक खण्ड

हेटौंडा टुडे
२७ चैत्र २०७६, बिहीबार २२:२२

चैत्र २७,हेटौंडा/ लकडाउनका कारण संसार नै लगभग ठप्प छ । नेपालमा पनि पछिल्लो १६ दिनदेखि सबै गतिविधि ठप्प छ । कोरोना संक्रमणबाट सचेत रहन सरकारले लक डाउन लम्ब्याएसँगै स्वास्थ्यकर्मी र प्रहरीबाहेक सरकारका अन्य अवयव नै लगभग निस्क्रिय छ । यस्तो बेला सडक निर्माण, विकासका पूर्वाधारका काम हुन सक्ने कल्पनै भएन । तर तपाईं हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडक खण्ड पुग्नु भयो भने मनमनै भन्नुहुनेछ, विकास निर्माण गर्न चाहे लकडाउन र कर्फ्युले केही फरक पार्दैन रहेछ । बश विकास निर्माणको काममा इच्छाशक्ति हुनुपर्छ । दृढ इच्छाशक्ति भयो भने लकडाउन कुनै आइतबार होइन ।

हो, बागमती प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सडक निर्माण धमाधम भइरहेको छ । त्यहाँ जोखिम मोलेरै काम भइरहेको छ । यतिखेर यातायात चाप नहुने भएकाले निर्माण कार्यले पनि गति लिएको छ । ३२ करोड रुपैयाँ लागतमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले निर्माण आव्हान गरेको ठेक्का अनुसार दुई खण्डमा निर्माणको काम भइरहेको हो । सडक निर्माण कार्यको जिम्मा पाएको मोतिदान जेभीले सडक निर्माणलाई तीव्रता दिएको छ र लकडाउनमै पनि सडकमा काम भइरहेको छ ।

काठमाडौं जान छिटो र छरितो नाका भएको र लामो समय नेतृत्वविहीन भएको भौतिक पूर्वाधार मन्त्रालयले सडक चाँडो निर्माणका लागि तयार भएपछि मोतीदानलाई काम जिम्मा दिएको हो । आउँदो वर्षायाममा काठमाडौं जाने अन्य नाका रोकिए पनि हेटौंडाबाट काठमाडौं जान कुनै समस्या नहोस् भनेर मन्त्रालयले दिएको जिम्मा अनुसार नै जोखिम मोलेर लकडाउनमा पनि काम भइरहेको कम्पनीका विकास गौतमले बताए । सडक निर्माणक्रममा केही रुखहरु पनि लडेका छन् । ‘हामीले मन्त्रालयको निर्देशन अनुसार काम गरिरहेका छौँ,’ गौतमले भने,

‘वातावरण संरक्षण ऐन २०७६ को दफा ८ तथा वन ऐन २०७६ को दफा ४९ (ग) लाई अंगीकार गर्दै सडक निर्माण गरिरहेका छौँ, रुख ढाल्ने, वनमा क्षति पुर्याउने काम गरेका छैनौँ ।’ ‘सडक निर्माण क्रममा केही रुखहरु लडेका छन्, ढलेका होलान्, सडक निर्माणस्थलको भूगोल नै त्यस्तै छ, पहिरो जाँदा पनि केही रुख लडेका हुन्,’ गौतमले भने, ‘सडक निर्माण क्रममा जे जस्ता काम भएका छन्, सबै प्रदेश सरकार र भौतिक पूर्वाधार मन्त्रालयमा जानकारी गराएका छौँ र सरकारको निर्देशन अनुसार नै काम भइरहेको छ, यत्रो सडक निर्माणमा एकाध रुख ढल्छन्, मन्त्रालयलाई जानकारी गराउँदा काम गर्न भनिएको हो । भौतिक पूर्वाधार मन्त्रालयले नै सडकको आइइको काम अगाडि बढाएको र सडक निर्माणको पनि काम पनि चाँडो सक्न निर्देशन दिएको निर्माण कम्पनीले जनाएको छ ।

कम्पनीका गौतमले भने, ‘लकडाउनमा पनि जोखिम मोलेर पाइएको जिम्मा पूरा गर्न लागेका छौँ, यस्तो बेला हामीलाई प्रोत्साहन दिने कि हतोत्साह गर्ने, यो सडक नबन्दा सास्ती कसले पाउँछन् ? काम नै रोकेर बजेट फ्रिज गराउँदा निर्माण कम्पनी र प्रदेश सरकारलाई गाली गर्ने मोका पाइएला भनेर केहीलाई ‘राजनीतिक तर’ मार्न खुराक त बन्ला तर सडक बनाउन हामीले मोलेको चुनौती कम छैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*