२०२१ को अन्त्य सम्ममा कतारमा सम्पुर्ण नागरिकलाई कोरोनाविरूद्ध खोप लगाईने

हेटौंडा टुडे
१७ माघ २०७७, शनिबार २१:११

कतार ।  कतार सरकारले आफ्ना नागरिक सहित सम्पूर्ण आप्रवासीलाई सन् २०२१ को अन्त्य सम्ममा कोरोनाविरूद्ध खोप निःशुल्क वितरण गर्ने भएको छ । कतारको स्वास्थ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै चार चरणमा यहाँ बसोबास गर्ने सबैलाई कोरोनाविरूद्ध खोप लगाईसक्ने जनाइएको हो ।

कतारमा कोरोना खोप सुरु भएदेखि अहिलेसम्म ५० हजार मानिसले कोरोनाविरूद्धको खोप लगाएका छन् । खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारबाट प्रकाशित हुने क्यूएन खबरले जनाएको छ । कतारमा कोरोना भाइरस विरुद्धकोे पहिलो खोप कतार युनिभर्सिटीका भुतपूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसीलाई लगाइएको थियो । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिनलाई कतार सरकारले प्रयोगमा ल्याएको थियो ।

कतारले पहिलो चरणमा ९ डिसेम्बर २०२० देखि ३१ मार्च २०२१ सम्म कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी, प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी (एम्बुलेन्स टिम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज, ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु, भाइरस बाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु, ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु, अन्य स्वास्थ्यकर्मी,आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारीलाई निःशुल्क खोप वितरण गरिने जनाएको छ । त्यस्तै अप्रिल १ देखि जून ३०, २०२१ सम्म दोश्रो चरणमा पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु, भाइरस बाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू, खाना, हाउसकीपिंग, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू, बाँकी शिक्षा क्षेत्रका कर्मचारी, पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू, ४० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई खोप बितरण गरिने भएको हो ।

त्यस्तै जुन १ देखि जुलाई ३१ २०२१ सम्म तेस्रो चरणमा युवा तथा बालबालिका ( बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि), पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरुलाई खोप वितरण गरिने छ । त्यस्तै अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म चौथो चरण पहिलो,दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरुलाई खोप वितरण गरिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आगामी १० दिन भित्र मोडर्ना कम्पनीको खोप पनि कतार आइपुग्नेछ । गत साता देखि संक्रमितको उल्लेखनीय वृद्धिले कतारमा भाइरसको दोस्रो लहर सुरु हुनसक्ने देखिएको यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ । कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५० हजार ६२१ पुगेको छ । त्यस्तै कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार ५५६ संक्रमणमुक्त भएका छन् । कतारले १३ लाख ७९ हजार ६६६ जनाको कोरोना जाँच गरिसकेको छ ।
कतारमा संक्रमित मध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले खोप ल्याएसँगै कतारमा रहेका नेपालीले पनि चरणबद्ध रुपमा खोप लगाउन पाउनेछन् । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*