
हेटौंडा । मकवानपुरगढी गाउँपालिकाकामा अनुमति भन्दा बढी नदिजन्य पदार्थ उत्खनन गरीएको नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले दाबी गरेको छ ।
गत चैत्र १६ गते देखी ३१ गते सम्म सामरी खोलाको विभिन्न स्थानबाट उत्खनन् गरिएको नदीजन्य पदार्थ जिल्ला दैविक प्रकोप उद्दार समितिबाट प्राप्त अनुमति जम्मा एक लाख २५ हजार २ सय घनमिटर उत्खनन् गर्ने भनिएता पनि गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिको सेटिङमा एक लाख ३५ हजार घनमिटर उत्खनन् भएको पाइएको छ ।
नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले सत्य तथ्य जानकारी गराउन गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई पत्र हस्तान्तरण पश्चात सामरी खोलाको विभिन्न ११ स्थानबाट एक लाख ३५ हजार १३ घनमिटर उत्खनन् गरिएको भनी जानकारी पत्र दिएको थियो ।११ वटै स्थानका परिमाण अनुमानित दुई लाख घन मिटर जति देखिएको भन्दै आर्थिक अनियमितता गर्ने उद्देश्यले गुप चुप गर्ने प्रयास गरिएको नेपाली कांग्रेस गाउँपालिका सभापति राजवीर मोक्तानले बताए ।
उत्खनन् गरेर राखिएको नदीजन्य पदार्थ पुन नापजाँच हुनुपर्छ भन्दै माग राख्दा जिल्ला समन्वय समितिको प्राविधिक टोलीले बाँसपानी नजिक झोलुङ्गे पुल मुनी संकलन गरिएको परिणाम नाप गर्दा १० हजार ३०० घनमिटिर भएको तर गाउँपालिकाबाट खटिएका कर्मचारी र इन्जिनियर सहितका टोलीले उक्त परिणामको नाप ५ हजार ७ सय १२ भनी विवरण राखेको सभापति मोक्तानले बताए । शनिबार पत्रकार सम्मेलन गर्दै उनले पालिकाको सर्वदलीय निर्णय बमोजिम जेठ १९ गते देखी २८ गते सम्म भएको तिपघाट प्वाईन्टको टिफर टिप गणना अनुसारको वास्तविक रेकर्ड ८ हजार ३०८ घनमिटर देखिएको छ तर पालिकाले आफ्नो राजश्व रेकर्डमा भने ५ हजार ७१२ राखेको बताए । वास्तविक घनमिटरमा फरक देखिएको २ हजार ५९६.७४ घनमिटिर हो जसको राजश्व ९ लाख ३० हजार ६४७ रुपैयाँ आउँछ सभापति मोक्तानले भने । एउटा थुप्रोको मात्रै ९ लाख भन्दा बढी राजश्व मिलेमतोमा बाडँफाँड गर्न लागेकोमा हामीले बाड्नबाट बचाउन सक्यौ यस्तै अन्य १० स्थानमा पनि नाप जाँचमा सेटिङ रहेको छ त्यसको विवरण सार्वजानिक तथा पुन नापजाँच गरिनुपर्ने बताए । ११ वटै संकलित परिणाममा करिब २ करोड १९ लाख भन्दा बढी राजश्व रहन आउँछ र त्यो रकम पालिकाका कर्मचारी, निर्देशन दिने जनप्रतिनिधि, नदीजन्य उत्खनन्मा राखिएका करारका कर्मचारीले अनियमियता गरेको मोक्तानले बताए ।
हामीले तरुण दल, विद्यार्थी तथा पार्टीको तर्फबाट छानविन गरी यो आर्थिक हिनामिनामा डटेर लाग्ने, पालिकाले देखाएको भन्दा दोब्बर परिणाम रहेको संघीय प्रतिनिधि सभा क्षेत्र २ का सभापति यतिराज सापकोटाले बताए । पालिकामा आउने आन्तरिक राजश्व कर्मचारी र जनप्रतिनिधिको निर्देशनमा बाढेर खानलाई अनुमति भन्दा बढी खोला उत्खनन् गरेको बताए । नेपाली कांग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधि यस कार्यको विरुद्धमा उभिएको बताउदैं यस कार्यको स्वच्छ रुपमा आर्थिक विवरण जनता सामू प्रस्तुत नगरे पालिकामा ताला लगाउने कार्य गरिने बताए । उनले नदीजन्य पदार्थ उत्खनन्का बखत करारमा नियुक्त सबै कर्मचारीको मिलेमतोको भागेदार भएकाले सबैलाई आवश्यक कारवाही गरिनुपर्ने बताए ।

