हेटौँडा/ डेक नेपालले अमेरिकी दातृ निकाय यूएसएडको आर्थिक सहयोगमा परियोजना अन्तरगत हेटौंडामा शिक्षासम्बन्धी नीति निर्माणमा नागरिक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा शिक्षाको परिचय र महत्व, संविधानमा शिक्षा, मकवानपुरमा शैक्षिक अवस्था, शिक्षामा चुनौतीहरु तथा सुधार ल्याउन गर्नुपर्ने कामहरु, शिक्षाको अधिकार सुनिश्चितताको लागि नागरिक समाजको योगदानलगायतको विषयमा प्रस्तुतिकरण गरिएको थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडाले सहजिकरण गरेको कार्यक्रममा मकवानपुर र धादिङका सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका शाखा अधिकृत कृष्णप्रसाद सापकोटा, हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, मनहरी गाउँपालिकाका शिक्षा अधिकृत हरिचन्द्र सापकोटा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी उपाध्यक्ष आरती पाठक, नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


















