नेपालको गोल्डस्टार जुत्ता अब अमेरिकी बजारमा

हेटौंडा टुडे
२६ आश्विन २०७८, मंगलवार १२:१७

हेटौँडा/ नेपालको गोल्डस्टार जुत्ता अमेरिकी बजारमा पनि प्रवेश गर्न लागेको छ ।

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चर्सले अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी नेपाली उत्पादन अमेरिकी बजारमा बिक्री–वितरण सुरु गर्न लागेको हो । डालस र सन फ्रान्सिस्कोबाट गोल्डस्टार अमेरिकी बजारमा प्रवेश गर्न लागेको हो ।

कम्पनीले यही अक्टोबर १७ तारिखका दिन टेक्सासको डालस र अक्टोबर २४ देखि सन फ्रान्सिस्कोमा जुत्ताको बिक्री–वितरण सुरु गर्नेछ ।न्युयोर्कमा आयोजित कार्यक्रममा किरण सुज म्यानुफ्याक्चर्सका अध्यक्ष आमिरप्रताप जबराले गोल्डस्टार जुत्ता अमेरिकाको निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरे । “हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्तराज्य अमेरिकामा आइपुगेका छौँ । यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध छौँ,” उनले भने ।

गोल्डस्टारको प्रमुख मोडल ‘०३२ भेरियन्ट’ले नेपालमा ठूलो चर्चा पाएको छ । हरेक पुस्तालाई सफलतापूर्वक गोल्डस्टार जुत्ता मोडेलहरू प्रस्तुत गरेको उनले बताए । गोल्डस्टार जुत्ता धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा नेपाली उपभोक्ताले लिँदै आएको पनि उनले बताए ।

अमेरिकास्थित नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले सबै नेपाली, नेपाली उद्यमी र व्यापारिक समुदायका लागि यो गर्वको क्षण भएको र यसले एउटा नयाँ आयाम आएको बताए । किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, “हाम्रो मिहिनेतले आज सात समुद्र पार गरेको छ । हामीले सामाजिक सञ्जालमा गोल्डस्टार जुत्ताप्रतिको आकर्षण देखेकै थियौँ र आज त्यो आकर्षणलाई नै लिएर हामी अमेरिका आइपुगेका छौँ ।”

आफ्नो उत्पादन अमेरिकामा आइपुग्दा कम्पनीको लक्ष्य मानिसको विश्वास र उपभोक्ताको चाहना पूरा गर्नु नै रहेको उनले बताइन् । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मार्क ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्दै भने, “म विश्वस्त छु कि गोल्डस्टारले अमेरिकीहरूको मन जित्नेछ ।”

आरामको जुत्ता किन्नु नै उपभोक्ताहरूको पहिलो चाहना हुने र त्यो चाहना गोल्डस्टारले पूरा गर्न सक्ने उनले बताए । उनले नाइकीजस्तै ब्रान्डसँग समेत गोल्डस्टारले प्रतिस्पर्धा गर्न सक्ने विश्वास पनि व्यक्त गरे । मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका सदस्य ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना व्यक्त गरे ।

गोल्डस्टारको जुत्ता स्व। नूरप्रताप जबराको परिकल्पनामा उत्पादन गरिएको ब्रान्ड हो । किरण सु म्यानुफ्याक्चर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको उत्पादन गर्न थालेको हो । यो जुत्ता स्व। राणाको परिकल्पनाअनुसार नै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेको कम्पनीले जनाएको छ ।

विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरवलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरु गरेको हो । गोल्डस्टारले ‘जी१०’ सिरिजमा आधुनिक शैलीको जुत्तासहित सबैका लागि नयाँ जुत्ताहरू प्रस्तुत गर्दै आएको जनाएको छ ।

ग्लोबल बन्दै गोल्डस्टार
गोल्डस्टार जुत्ताले सन् २००० को सुरुमा भारतमा आफ्नो व्यापार क्षेत्र विस्तार गरेको थियो । यसको मूल्य भारतीय मजदुर वर्गलाई मेल खाने हुँदा गोल्डस्टारले भारतमा राम्रो चर्चा पायो । गोल्डस्टार जुत्ता अष्ट्रेलिया, जापान र कतारपछि अमेरिकी बजारमा पनि प्रवेश गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*