मुम्बई /बलिउड अभिनेता सलमान खान सर्पको टोकाइपछि खतरा मुक्त भएका छन् । सोही कारण उनको ५६औं जन्मदिन सोचेभन्दा फितलो भएको छ । दुई दिनअघि जन्म दिन मनाउनको लागि उनी आफ्नो फार्महाउस पुगेका थिए । त्यही उनलाई सर्पले टोक्यो । जसका कारण उनी तत्कालै अस्पताल भर्ना भए तर उनी अहिले खतराबाट मुक्त भएको बताइएको छ ।
सर्पले टोकेपछि अस्पताल भर्ना भएका उनी उपचारपछि पुनः फर्महाउस फर्किएका छन् । उनलाई टोकेको सर्प त्यति विषालु नभएका कारण सलमान खतरा मुक्त भएको बताइएको छ । उनलाई सर्पले टोक्दा पिता सलिमदेखि सबै परिवार तनावमा थिए । उनी खतरा मुक्त भएपछि अहिले परिवारमा चिन्ता घटेको छ ।
अभिनेता सलमानले आफूलाई त्यो सर्पले तीनपटकसम्म टोकेको बताएका छन् । आफ्नो हातमा झुन्डिएर टोकेको सर्पलाई छुटाउन खोज्दा तीनपटक त्यो सर्पले आफूलाई डसेको यी अभिनेताको कथन छ ।करिब ६ घन्टा अस्पतालमा उपचार गराएका उनले सर्पको विषविरुद्धको सुई पनि लगाए । तर, पछि त्यो सर्व विषालु नभएको पाइएपछि आफू ढुक्क भएको यी अभिनेताले बताएका छन् । सलमानलाई टोकेको सर्पलाई सपेराले समातेर केही परको जंगलमा छाडेका छन् ।
यसपटक विषालु सर्प नभएका कारण आफ्नो ज्यान जोगिएको सलमानको कथन छ । उनको फार्म हाउसमा यसअघि पनि सर्प र बिच्छीले कामदारलाई टोकिसकेको छ । अबका दिनमा सर्प र विच्छीविरुद्ध अझ धेरै सचेत हुने पनि सलमानले बताएका छन् ।