हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले बालमैत्री गाउँपालिका घोषणा स्वीकृतिका लागि जिल्ला समन्वय समिति मकवानपुरसंग सिफारिस मागेको छ । सोमबार जिल्ला समन्वय समिति मकवानपुरलाई गाउँपालिकाले गरेका कार्य प्रगतिको प्रतिवेदन र नीतिगत दस्तावेज सहित बागमती प्रदेश सरकारलाई स्वीकृतिका लागि सिफारिस गरिदिन माग गरेको हो ।
पालिका अध्यक्ष बिदुर हुमागाईले जिसस प्रमुख रघुनाथ खुलाललाई गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका गर्ने लक्ष्यका साथ कार्यप्रकृया अगाडी बढाएको हुँदा सोको अनुगमन गरि बालमैत्री स्थानीय शासन कार्यानव्यन निर्देशिका २०७८ बमोजिम प्रदेश सरकारलाई सिफारिस गरिदिन आग्रह गर्नुभयो । सो क्रममा उहाँले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनिति तथा कार्यान्वयन कार्यविधि २०६८ र घोषणा कार्यविधि २०७० र बालमैत्ती स्थानीय शासन निर्देशिका २०७८ बमोजिम आवश्यक ५१ व्टा सुचक मध्ये ४० वटा सुचक शत प्रतिशत र ११ वटा सुचक ८० देखि ९७ दशमलव ९७ प्रतिशतसम्म पुरा भएको बताउनुभयो ।