हेटौंडा| पछिल्लो समय डेंगू संक्रमण ह्वातै बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगू संक्रमण उच्च रुपमा पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार, देशभर पछिल्लो एक हप्ता यता संक्रमण बढेको पाइएको छ । लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको र सोही कारण संक्रमण दैनिक बढिरहेको छ ।
पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर सङक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए ।
महाशाखाका अनुसार, गत असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गतेसम्म आइपुग्दा संख्या बढेर दुई हजार ९ सय ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।
यस पटक कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ ।


















